प्रधानमन्त्री कप क्रिकेटः पवन सर्राफको तुफानी अर्धशतक, बन्यो कीर्तिमान – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः पवन सर्राफको तुफानी अर्धशतक, बन्यो कीर्तिमान

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानहरु आशातित चल्न सकेका छैनन् । तर, बिहीबारको लुम्बिनीविरुद्धको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका तीन ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरे ।

ओपनर सुनिल धमलाले सुस्त गतिमा खेल्दै शतक प्रहार गरे भने कप्तान दिपेन्द्र सिंह ऐरीले आक्रामक रवैया देखाउँदै ६१ बलमा ८५ रन हिर्काए । तर, उनीहरु दुवैलाई बिर्साउने ब्याटिङ गरे, छैटौं नम्बरमा आएका पवन सर्राफले । लुम्बिनीका बलरहरुमाथि निर्दयी आक्रमण गर्दै उनले विष्फोटक अर्धशतक बनाएका छन् । उनले १३ बलमा बनाएको अर्धशतक नेपालको राष्ट्रिय प्रतियोगितामा सर्वाधिक छिटो हो ।

४७.२ ओभरको खेल सकिंदा मात्र सर्राफ ब्याटिङमा आएका थिए । त्यसबेला पुलिसले ४ विकेटको क्षतिमा २५४ रन जोडेको थियो । १६ बलको खेल मात्र बाँकी रहेको अवस्थामा टिमले ३०० को आँकडा पार गर्ने पवनले अर्धशतक हान्ने कसैको कल्पनामै थिएन । तर, क्रिकेटमा कहिलेकाहीँ कल्पना बाहिरको नतिजा निस्किन्छ ।

पवनले ४७ ओभरको अन्तिम ओभरमा चौका प्रहार गर्दै आफ्नो गति समातेका थिए । ४८ औं ओभरमा पाँच बलको सामना गरेका उनले दुई छक्का हाने । अन्तिम ओभरमा उनी अनियन्त्रित नै बने । लुम्बिनीका बलर सौरभ खनालका लागि ‘नाइटमेयर’ बनेका उनले पहिलो तीन बलमा लगातार छक्का हाने । त्यसपछिका दुई बलमा २–२ रन हाने भने अन्तिम बलमा उनको ब्याटबाट छैटौं छक्का निस्कियो । यसप्रकार १३ बलमा पवनको अर्धशतक पूरा भयो, जसमा १० रन मात्रै उनले दौडेर लिएका थिए ।

आज पुलिसका ओपनर धमलाले बनाएको शतक जारी प्रतियोगितामा दोस्रो हो । उनले १४५ बलको सामना गर्दै १०४ रन जोडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर