प्रदेश २: दुर्घटनामा एकैदिन ४ को मृत्यु, २० जना घाइते – Nepal Press

प्रदेश २: दुर्घटनामा एकैदिन ४ को मृत्यु, २० जना घाइते

जनकपुरधाम । प्रदेश २ मा भएको छुट्टाछुट्टै दुर्घटनामा एकैदिन चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर छ ।

सप्तरीको हुलाकी सडक अन्तर्गत खडक नगरपालिका ११ बनौलीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वतर्फ आउँदै गरेको तीन जना सवार प.२–०१–००१–६१४६ मोटरसाईकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक खडक नगरपालिका- ११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार सोही ठाउँका २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । उनका अनुसार मोटरसाईकलमा पछाडी सवार स्थानीय २१ वर्षीय सुनीलकुमार चौधरी घाइते भएका छन् ।

गम्भीर घाईते चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

यता, सर्लाहीमा यात्रुबाहक बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ मा ना ५ ख ४४८८ नम्बरको बस अनियन्त्रित भएर पल्टेको छ ।

दाङबाट काँकडभिट्टातर्फ बस जाँदै गर्दा दुर्घटना भएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।

उनका अनुसार बसमा सवार बसमा ३० यात्रु सवार थिए । जसमध्ये दाङको राप्ती गाउँपालिका ५ का ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीया रीता चौधरीको मृत्यु भएको छ ।

घाइते १९ जनामध्ये बसका चालकसहित ५ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

दुर्घटना आज बिहान करिब ५ बजे भएको एसपी राठोरले जानकारी दिए । बसमा सवार ११ जनाको सकुशल उद्धार गरिएको छ । बस चालक निदाएर वा कुहिरोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर