सुनसरीमा नेकपा विभाजन : द्वारिकलाल र उपसभामुख तटस्थ, अरुको ‘कित्ता क्लियर’ – Nepal Press

सुनसरीमा नेकपा विभाजन : द्वारिकलाल र उपसभामुख तटस्थ, अरुको ‘कित्ता क्लियर’

स्थानीय तहका जनप्रतिनिधि ओलीतिर, प्रदेशसभा सदस्य दुवै पक्षमा बराबर

इटहरी । प्रदेश १ मा नेकपाको सबैभन्दा कमजोर जिल्ला हो सुनसरी । नेकपाका शक्तिशाली नेता भीम आचार्यको गृहजिल्ला र वामपन्थी आन्दोलनको पुरानो किल्लाको पहिचान बोकेको सुनसरीमा पछिल्ला निर्वाचनमा नेकपा कमजोर छ ।

सुनसरीका चार संघीय संसदमा एकमात्रै नेकपाका हुनु र १२ स्थानीय निकायमा दुई निकायमा मात्रै प्रमुख र उपप्रमुख तत्कालीन एमालेले जितेको सुनसरीमा नेकपाको विजोग स्थिति देखाउँछ । धरानमा प्रमुख र उपप्रमुख दुवै जितेको नेकपाले मेयर तारा सुब्बाको मृत्युपछि भएको उपचुनावमा कांग्रेसलाइ जित्न नसक्नु पनि नेकपाका खस्किदो शाखको एक उदाहरण हो । जिल्लामा खस्किदो शाखका बाबजुद अहिले विभाजित नेकपाको पल्लाको अंकगणित भने मिश्रित देखिन्छ ।

स्थानीय तहमा ओली हाबी

सुनसरीका १२ स्थानीय तहमा इटहरी उपमहानगर र बराहक्षेत्र नगरपालिका मात्रै प्रमुख र उप्रमुख सेट नेकपाको छ । यस्तै, धरान उपमहानगरपालिका र रामधुनी नगरपालीकामा भने नेकपाका उपप्रमुख मात्रै छन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी दुवै समूहमा खुलेका छैनन् । आफ्ना निकटस्थहरूसँग सूर्य चिन्ह जता आफू त्यता भएको बताउने मेयर चौधरी बिगतमा ओली समूह निकट मानिन्थे ।

मेयर हुनु अगाडि तत्कालीन एमालेका सुनसरी अध्यक्ष हुँदा सबैजसो कार्यक्रममा ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाउने चौधरीलाई धेरैले पोखरेल निकट मान्दै आएका छन् । इटहरीकी उपप्रमुख लक्ष्मी गौतम भने खुलेर ओली समूहमा छिन् । ओली समूहको केन्द्रिय सदस्य हुन् गौतम । धरान उपमहानगरपालीकाकी उपप्रमुख मन्जु भन्डारी पनि ओली समूहकी हुन् ।

यस्तै, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल पनि ओली समूहकै हुन । बराहक्षेत्रकी उपमेयर कमला मगर र रामधुनी नगरपालीकाकी उपमेयर सविनाकुमारी चौधरी भने प्रचन्ड-माधव पक्षमा छन् ।

प्रदेशमा बराबर, संघमा प्रचन्ड माधव

स्थानीय तहमा ओली समूह शक्तिशाली देखिए पनि प्रदेशमा बराबर र संघमा भने प्रचन्ड-माधव समूह बलियो छ । नेकपाका आठ प्रदेश सांसदमा चारजना ओली पक्षका छन् । प्रदेश सरकारका पर्यटनमन्त्रीसमेत रहेका जगदियप्रसाद कुसियैत, सर्वध्वज साँवा र लिलम बस्नेत ओली समूहमा खुलेर लागेका छन । यस्तै, भीम आचार्य, सावित्री जोशी र उमिता विश्वकर्मा प्रचन्ड माधव समूहमा खुलेर लागेका छन् ।

सभामुख प्रदीप भन्डारीले अहिलेसम्म तटस्थता अपनाएका छन । पदीय कारण पनि उनी अहिले खुल्न बाध्य छैनन् । बादल निकट मानिने उपसभामुख सरस्वती पोखरेल ओली समूहमा सकारात्मक भएको ओली पक्षधर एक केन्द्रीय सदस्यले बताए ।

सुनसरीमा एकमात्रै संघीय सांसद जितेको नेकपामा विघटित प्रतिनिधिसभा सदस्य जयकुमार राई प्रचन्ड माधव समूहका हुन । धरान र बारहक्षेत्र समेटिएको सुनसरी क्षेत्र नम्बर १ का राई खुलेर प्रचन्ड-माधव समूहमा सक्रिय छन् ।


प्रतिक्रिया

One thought on “सुनसरीमा नेकपा विभाजन : द्वारिकलाल र उपसभामुख तटस्थ, अरुको ‘कित्ता क्लियर’

  1. रेवतिरमण भण्डारी कुन पक्षमा हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर