रोल्पामा माओवादी एकढिक्का, पूर्व एमालेको अधिकांश हिस्सा ओलीतिर – Nepal Press

रोल्पामा माओवादी एकढिक्का, पूर्व एमालेको अधिकांश हिस्सा ओलीतिर

राेल्पा । नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि तत्कालीन माओवादीले आफ्नो आधार इलाका भन्ने गरेको रोल्पाको अवस्थाबारे धैरेको चासो छ । माओवादीको प्रभुत्व हुँदाहुँदै पनि अन्य जिल्लामा झैं रोल्पामा पनि पार्टी विभाजनको असर छरपष्ट देखिन्छ ।

स्थानीय निर्वाचित जनप्रतिनिधि, जिल्ला कमिटी र पालिका स्तरका कमिटीमा भएको ‘कित्ताकाट’लाई विश्लेषण गर्दा पूर्व माओवादी समूह लगभग सबै प्रचण्ड–माधव पक्षतिर गएको पाइन्छ ।

त्यस्तै पूर्व एमालेको समूहको बहुमत पक्षले चाहिँ ओली ओलीलाई रोजेको पाइन्छ । बिगतदेखिकै एमाले-माओवादी दरार यहाँ प्रष्ट रुपमा देखिन्छ । रोल्पामा पूर्व माओवादीको केन्द्रीय नेतृत्व वर्षमान पुनले गर्छन् भने पूर्व एमाले ओली पक्षको नेतृत्व गोकुल घर्तीले गर्छन् ।

अहिले वर्षमान र गोकुल दुवैजना आ आफ्नो पक्षको माहौल बनाउन खटिएका छन् ।

नेपाल प्रेसले स्थानीय निर्वाचित जनप्रतिनिधि, जिल्ला कमिटी र पालिका स्तरका कमिटीमा भएका फेरबदललाई केलाएर दुई पक्षको अवस्था केलाउने प्रयास गरेको छ ।

स्थानीय तह

दश स्थानीय तह रहेको रोल्पामा तत्कालीन माओवादी केन्द्र र एमाले एक्ला एक्लै चुनाव लड्दा जिल्लाका ७ स्थानीय तहमा माओवादीले एकल बिजय पाएको थियो । नेपाली कांग्रेसले लुङ्ग्री गाउँपालिका मात्रै जितेको थियो । त्यहाँ नेपाली कांग्रेसका दुर्गा खड्का विजयी भएका थिए । बाँकी दुईमा एमालेले जितेको थियो ।

नेकपा विभाजनपछि पनि पूर्व माओवादी समूहबाट जितेका सबै प्रतिनिधि प्रचण्ड–माधव पक्षतिरै छन् । पूर्व एमालेबाट जितेका दुई पालिकामा अध्यक्ष भने ओली पक्षतिर लागेका छन् ।

पूर्व एमालेबाट त्रिवेणी गाउँपालिका अध्यक्ष जितेका शान्तकुमार वली र रुन्टीगढी गाउँपालिकाबाट निर्वाचित अध्यक्ष बालाराम बुढा ओलीतिरै खुलेका छन् ।

रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, थवाङ गाउँपालिका वीरबहादुर घर्ती, सुनछहरी गाउँपालिकाका आशबहादुर पुन, गंगादेव गाउँपालिकाका बीरबहादुर खत्री, माडी गाउँपालिकाका नन्दबहादुर पुन र सुनिल स्मृति गाउँपालिकाका गुणेन्द्र घर्ती पूर्ववत् धारलाई नै यथावत राखी प्रचण्ड-माधव पक्षतिर खुलेका छन् ।

७२ वटा वडा रहेको जिल्लामा केही वडा पदाधिकारीले भने आफ्नो पक्ष परिवर्तन गर्ने सम्भावना छ । जस्तो पूर्व माओवादीबाट जितेका गंगादेव–४ वडाध्यक्ष रामबहादुर वली ओलीतिर लागेका छन् । त्यस्तै पूर्वमाओवादीबाटै जितेका त्रिवेणीका तीन जना वडा सदस्य पनि ओलीतिर खुलेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख दुवै पूर्व माओवादीले जितेको थियो । प्रमुख राजबहादुर बुढा र उप्रमुख विमला थापा प्रचण्ड-माधव पक्षतिरै छन् ।

पार्टी कमिटीमा दुई पक्ष

जिल्ला इन्चार्ज सिजल पुन, अध्यक्ष सुरेन्द्र घर्ती र सचिव हरिप्रसाद घर्ती प्रचण्ड-माधव पक्षतिर छन् । सचिव घर्ती पूर्व एमालेका हुन भने अरु पूर्व माओवादीका हुन् । पूर्व एमालेबाट प्रचण्ड–माधव पक्षमा जाने घर्ती सबैभन्दा उच्च तहका जिल्ला नेता हुन् ।

सचिव घर्ती प्रचण्ड-माधव पक्षतिर गए पनि जिल्ला कमिटी पूर्वएमालेबाट प्रतिनिधित्व गर्ने अधिकांश आफूतिरै रहेको ओली पक्षको दावी छ ।

१३५ जना रहेको जिल्ला कमिटीमा पूर्व एमालेबाट ५४ जना थिए भने बाँकी ८१ जना पूर्व माओवादी पक्षका थिए । ओली पक्ष पूर्व एमालेबाट जिल्ला कमिटीमा रहेकाहरुमध्य सचिव घर्तीसँग १२/१३ मात्रै जाने दावी गर्छ ।

पालिका कमिटी र जनवर्गीय संगठन

१० पालिका कमिटी अध्यक्षमध्य पूर्व एमालेका ४ जना अध्यक्ष थिए भने बाँकी सबै पूर्व माओवादीका थिए ।

नेकपा विभाजनपश्चात पूर्व माओवादीबाट अध्यक्ष बनेका सबै प्रचण्ड-माधव पक्षतिरै छन् भने पूर्व एमालेबाट अध्यक्ष बनेका चारमध्ये तीन ओलीतिरै खुलेर लागेका छन् ।

रुन्टीगढी गाउँ कमिटीका अध्यक्ष आशाराम गुरुङ भने अझैं कतै खुलेका छैनन् । स्वाथ्य अवस्थाका कारणले राजनीतिक क्रियाकलापमा सक्रिय नभए पनि ओलीतिर रहेको बताइन्छ । गंगादेव गाउँ कमिटी अधयक्ष रोशन वली, त्रिवेणीका अध्यक्ष निमप्रसाद रोका र लुङ्ग्रीका अध्यक्ष पर्शुराम घर्ती ओलीपक्ष तिरै लागेको बताइन्छ ।

पूर्व एमालेबाट भएका पालिका कमिटीका ६ सचिवमध्य सुनिलस्मृती गाउँपालिकाका सचिवले मात्रै माधव नेपाललाई रोजेका छन् ।

रोल्पाबाट विघटित प्रतिनिधिसभा सदस्य रहेका वर्षमान पुनले जिल्लामा आफ्नो पक्षलाई बलियो बनाउन कसरत गरिरहेको बताइन्छ । उनले सग्लो नेकपामा पूर्व एमालेबाट गाउँपालिका कमिटी अध्यक्ष भएकाहरुलाई आफ्नो पक्षमा तान्न कोसिस गरिरहेका छन् । गंगादेवका रोशन वलीलाई आफ्नो पक्षमा लाग्न पुनले दिनहुँ फोन गर्ने गरेको ओली पक्ष बताउँछ ।

१७ माघमा ओली पक्षले जिल्ला जनवर्गीय संगठनको भेला गर्दै छ । त्यहाँ नेता रामबहादुर थापा ‘बादल’ समूहमा रहेका केही ओली पक्षतिर खुल्न सक्ने बताइन्छ । केन्द्रमा बादल ओलीतिर लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर