बाइडेनले लिए ४६ औं राष्ट्रपतिको सपथ, भन्छन्- अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ – Nepal Press
बाइडेनले लिए ४६ औं राष्ट्रपतिको सपथ, भन्छन्- अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ
अमेरिकामा शक्ति हस्तान्तरण
विष्णु शर्मा २०७७ माघ ८ गते ०:३९
२०७७ माघ ८ गते ०:३९

काठमाडौं । ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् । अमेरिकी संसद भवन क्यापिटल हिल बाहिर आयोजित समारोहमा बाइडेनले सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सबाट सपथ लिए ।

पहिलो अश्वेत एवं दक्षिण एसियाली मूलकी अमेरिकी उपराष्ट्रपतिको हैसियतमा कमला ह्यारिसले पनि सपथ ग्रहण गरिन् । बाइडेनले २०० वर्ष पुरानो बाइबलमा हात राखेर सपथ लिए । ह्यारिसले २ वटा बाइबल छोएर सपथ लिइन् ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै बाइडेनले अनेकौं चुनौतिको बीचबाट पुनः नयाँ अमेरिकाको उदय हुने बताए । ‘यो प्रजातन्त्रको दिन हो । यो इतिहास र आशाको दिन हो । यो नवीकरण र समाधानको दिन हो’ बाइडेनले भने ।

‘जनताको अभिमत सुनिएको छ । जनताकै इच्छाअनुसार अमेरिका अघि बढ्छ । हामीले लोकतन्त्र महंगो छ भन्ने कुरा पुनः सिक्यौं । लोकतन्त्र जीवन्त हुन्छ भन्ने बुझ्यौं । मेरा प्रिय साथीहरु, यो समयमा लोकतन्त्र पुनः जीवित भएको छ’ बाइडेनले भने ।

आफूले भोट नदिने अमेरिकी नागरिकको पनि आफू राष्ट्रपति भएको बाइडेनले बताए । ‘म सबै अमेरिकीको राष्ट्रपति बन्न चाहन्छु । मलाई भोट दिनेको मात्र होइन, भोट नदिनेको पनि म राष्ट्रपति बन्न चाहन्छु’ उनले भने, ‘म सबै पार्टीका प्रतिनिधिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

कोरोनाभाइरस महामारी अमेरिकाको लागि ठूलो चुनौति भएको बताउँदै बाइडेनले भाइरसलाई परास्त गर्नको लागि सबै एकजुट हुनुपर्ने खाँचो औंल्याए । भाइरसबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाइडेनले मौन धारण पनि गरे । भाइरसलाई जितेर बालबालिकालाई चाँडै स्कुल पठाउने दिनको प्रतीक्षामा आफू रहेको उनले बताए ।

पहिलो विश्वयुद्धमा भन्दा भाइरसले गर्दा बढीको मृत्यु भएको बताउँदै उनले भाइरसले भित्रभित्रै समस्या सिर्जना गरेको बताए । अमेरिकाले आज खेपिरहेको अभूतपूर्व चुनौतिविरुद्ध सबै अमेरिकी एकजुट हुनुपर्ने समेत उनले बताए । विभाजन हुने समय सकिएको भन्दै उनले एकताको लागि आह्वान समेत गरे ।

सपथ ग्रहण मञ्चबाटै बाइडेनले विश्व समुदायलाई पनि सन्देश दिए । ‘हाम्रो सीमाभन्दा बाहिर पनि मेरो सन्देश छ । अमेरिका धेरै परिक्षणबाट गुज्रियो । अब बलियो भएर आउनेछ । हामी हाम्रा साझेदार मुलुकसँग पनि मिल्नेछौं र विश्वसँग पुनः एक हुनेछौं’ उनले भने । यो अभिव्यक्तिलाई बाडडेन प्रशासनको आगामी परराष्ट्र नीतिको संकेतको रुपमा हेरिएको छ ।



‘हामी शक्तिशाली छौं भन्ने उदाहरण देखाएर होइन, बरु हाम्रो उदाहरणलाई शक्ति मानेर विश्वलाई पुनः नेतृत्व गर्नेछौं’ बाइडेन भन्छन्, ‘हामी शान्ति, विकास र सुरक्षाको लागि एउटा भरपर्दो मित्र बन्न चाहन्छौं ।’

कोभिड–१९ को कारण सीमित पाहुना समारोहमा उपस्थित थिए । पूर्वराष्ट्रपतिहरु जर्ज डब्लु बुस, बिल क्लिन्टन, बाराक ओबामा र उनीहरुका पत्नी पनि सहभागि थिए । पपगायिका लेडी गागाले अमेरिकी राष्ट्रिय गीत गाइन् । जेनिफर लोपेजले पनि प्रस्तुति दिइन् । कवियत्री अमान्डा गोरम्यानले अमेरिकी आशावादिता झल्काउने कविता बाचन गरिन् ।

समारोहमा कमल ह्यारिसका पति डग एमोफलाई मुलुककै फस्ट सेकेन्ड जेन्टलम्यानको रुपमा परिचय गराइएको थियो । कन्ट्री म्युजिक स्टार गार्थ ब्रुक्सले अमेजिङ ग्रेस बोलको गीत गाए ।

तर, सपथ ग्रहण समारोहमा डोनाल्ड ट्रम्प उपस्थित नभएपनि उनको प्रशासनका उपराष्ट्रपति माइक पेन्स भने उपस्थित थिए । उनले बाइडेन र ह्यारिसलाई बधाइ समेत दिए । ट्रम्प भने सपथ ग्रहण समारोहको केही घन्टा अगाडि ह्वाइट हाउसबाट बिदा भएर फ्लोरिडाबाट लागेका छन् । केही मिडियाका अनुसार ट्रम्पले सन् २०२४ मा पुनः राष्ट्रपतिय चुनाव लड्ने गरि ‘प्याट्रिअटिक पार्टी’ गठनको तयारी थालेका छन् ।

 

सीमित पाहुनाको उपस्थितीमा क्यापिटल हिल अगाडिको कौसी र चौरमा सपथ ग्रहण कार्यक्रम गरिएको थियो । दुई साता अगाडि ट्रम्प समर्थकले संसद भवनभित्रै हिंसा मच्चाएपछि अहिले वासिङट्नमा संकटकाल लागु गरिएको छ । समारोहमा उपस्थित भएका राष्ट्रपति बाइडेनदेखि सबै सहभागिले मास्क लगाएर तथा सामाजिक दूरी समेत पालना गरेको देखिएको थियो ।

सामाजिक संजाल ट्वीटरले बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको आधिकारिक खाता हस्तान्तरण गरेको छ । बाइडेनको ट्वीटर खातामा जिरोबाट फलोअर्स सुरु भएको छ । ह्यारिसले सेवाका लागि तयार भन्दै उपराष्ट्रपतिको ह्यान्डलबाट पहिलो ट्वीट गरेकी छिन् ।