शेयर बजारमा सर्वसाधारणको आकर्षण, २६ लाख बढीले डिम्याट खोले – Nepal Press

शेयर बजारमा सर्वसाधारणको आकर्षण, २६ लाख बढीले डिम्याट खोले

काठमाडौं । मंगलबार ग्लोबल आईएमई बैंकमा शेयर कारोबारका लागि अत्यावश्यक ‘डिम्याट’ खाता खोल्नेको बाक्लो लाइन थियो । लाइनमा उभिएकी थिइन्, उदयपुरकी जमुना दाहाल । व्यवस्थापन संकायमा अध्ययनरत २१ वर्षीया जमुना चिनेजानेका साथीहरुले शेयर कारोबार सुरु गरेको देखेर आफू पनि डिम्याट खोल्न आएकी थइिन् । अहिले उनीजस्ता हजारौं युवाको आकर्षण बनेको छ, शेयर बजार ।

केही वर्ष अघिसम्म शेयर भर्नका लागि बैंकमा घण्टौं लाइनमा बसेर फारम बुझाउनु पर्ने बाध्यता थियो । साथै, शेयर बाँटफाँटका लागि महिनौ कुर्नुपर्ने समस्याबाट मुक्त भएसँगै सर्वसाधारणको आकर्षण शेयर बजारमा पर्न थालेको हो ।

अनलाइन माध्यमबाट शेयर कारोबारका लागि छुट्टै खाताको प्रयोग गर्नुपर्छ । त्यसैलाई डिम्याट भनिन्छ । आफ्नो खाता रहेको बैंकबाट डिम्याट खाता खोलेर शेयर कारोबार गर्न पाइन्छ । एक वर्ष अगाडिसम्म करिव १७ लाखले डिम्याट खाता खोलेका थिए । गएको १ वर्षको बीचमा डिम्याट खाता प्रयोग गर्नेको संख्या ८ लाखले बढेको सीडीएस एण्ड क्लियरिङको तथ्यांकले देखाउँछ ।

नेपालमा अहिलेसम्म कै सबैभन्दा धेरै आईपीओ इन्फ्रास्ट्रकचर बैंकले जारी गरेसँगै डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो । माघ ४ गतेमात्र एकै दिन ८१ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन् । माघ ६ गते २८ हजार ७५८ जनाले डिम्याट खाता खोलेका थिए । माघ ७ गतेसम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख १० हजार ८६२ पुगेको छ ।

शेयर बजारमा थोरै लगानी गरेर प्रवेश गर्न सकिने भएकाले पनि यसमा सर्वसाधारण आकर्षण भएको नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलको बुझाई छ । जानकारहरुका अनुसार अनलाइनबाट शेयर कारोबार हुन थालेपछि नै सबैको आकर्षण यसमा बढेको हो ।

पौलेलले शेयर बजारमा प्रवेश गर्दा कम्पनीको राम्रो विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिए । कोरोनाभाइरसका कारण लकडाउन भएकाले र अन्य व्यापार व्यवसाय पनि चल्न नसकेको कारण साना लगानीकर्ता पनि शेयर बजारमा आकर्षित भएका छन् ।

‘अहिले बजार बढेको समयमा नयाँ लगानी कर्ता प्रवेश गर्दा कम्पनीको विश्लेषण गरेर राम्रा कम्पनी छान्न सक्नु पर्छ नत्र आफूले मिहिनेत गरेर कमाएको पैसा एकै क्षणमा गुम्न सक्छ,’ इन्भेस्टर फोरमका पूर्व अध्यक्ष पौडेलले भने ।

अहिले शेयर बजार बढीरहेकोले पनि ‘बुलिस ट्रेण्ड’ मा शेयर मार्केटमा पस्नेको संख्या अत्यधिक रहने बताउँछन्, नेपाल स्टक एक्सचेन्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउद । ‘बुलिस ट्रेण्ड’ भनेको बजारको वस्तुस्थिति नबुझी एउटाले किनेको देखेर अर्काले किन्ने प्रवृत्ति हो ।

उनका अनुसार यो समय नयाँ लगानीकर्ताका लागि अत्यन्त जोखिमपूर्ण छ । अहिले नेपालको शेयर बजार अत्यधिक बढेको छ । यो समयमा नयाँ लगानीकर्ताले अर्काले कमायो भन्ने देखेरमात्र शेयरमा लगानी गर्दा जोखिम धेरै हुन्छ ।

‘नयाँ लगानीकर्ता यस्तो समयमा प्रवेश नगरेकै राम्रो । बजार घटेको समयमा नयाँ लगानी गर्नु उपयुक्त हुन्छ,’ साउदले थपे, ‘अहिले धेरैको बुझाई शेयर प्रवेश गरेसँगै तुरुन्त पैसा कमाइ हालिन्छ भन्ने छ । तर भोलि बजार घटेको बेलामा निराश हुनु हुँदैन । शेयर बजारमा प्रवेश गर्नसाथ पैसा कमिने मात्र होइन लहै–लहैमा कम्पनी नबुझी किनेमा डुबिन्छ पनि ।’

सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले चाहिँ दैनिक २० देखि ३० हजार डिम्याट खाता खोल्नेको संख्या बढ्नुलाई सकारात्मक रुपमा लिए । ‘यसले के देखाउँछ भने नेपाली शेयर बजारमा स्थानीय लगानीकर्ताको चासो बढेको छ । ‘शेयर बजारको विकास भनेको नै लगानीकर्ता बजार प्रवेश गरी कारोबारको दायरा बढाउनु हो,’ उनले भने, ‘अहिले देशमा नयाँ नयाँ कम्पनीले आईपीओ खोलेका छन् र नयाँ लगानीकर्तालाई आकर्षित गर्न सफल भएका छन् ।’

उनले पनि बजारमा हल्ला चलेकै भरमा शेयरमा लगानी गर्न नहुने बताए । ‘शेयर किन्दा दीर्घकालीन लगानी गर्ने सोचका साथ राम्रा कम्पनीको छनोट गर्नुपर्छ । सही समयमा सही निर्णय गर्न सक्नेले नै कमाउने हो,’ न्यौपानेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर