छात्रालाई होटलमा लगेर परीक्षा लिने सर पक्राउ, तर घटना रहस्यमय – Nepal Press

छात्रालाई होटलमा लगेर परीक्षा लिने सर पक्राउ, तर घटना रहस्यमय

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरामा अध्ययनरत एक किशोरीलाई अमर्यादित एवं गैरकानूनी माध्यमबाट परीक्षा लिइएको आरोपमा तीन जना पक्राउ परेपछि यो प्रकरण अहिले पोखरामा चर्चामा छ । पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षकहरु ४१ वर्षीय घनश्याम रेग्मी र ४० वर्षीय शिरीषकुमार बस्ताकोटी छन् ।

मंसीरको दोस्रो साताबाट सुरु भएको कक्षा ११ को परीक्षा छुटेपछि ती किशोरीको पुनः परीक्षा लिंदा होटलमा लिएको र अमर्यादित व्यवहार गरेको आरोप उनीहरुमाथि छ । राष्ट्रिय परीक्षा बोर्डबाट माघ २ गतेकाे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई माघ ५ गते पक्राउ गरेको थियो ।

रञ्जु (नाम परिवर्तन) लाई ११ कक्षाको दुई वटा विषय लागेर फेल भएकी थिइन् । यसै वर्षको सुरुआतमा हुने भनिएको बोर्ड परीक्षामा सामेल भएर पास गर्ने उनले सोचेकी थिइन् ।

तर, कोभिड १९ महामारी फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण परीक्षा स्थगित भयो र लम्बिँदै मंसिरको दोस्रो साता बल्ल परीक्षा भयो । मेजर अंग्रेजी र शैक्षिक विधिमा फेल भएकी उनी परीक्षा हुने बेला संयोगले जिल्लाबाहिर थिइन्, परीक्षा छुट्यो ।

परीक्षा छुटेपछि उनले मौका परीक्षाका लागि सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीलाई खबर गरिन् । अघिल्ला परीक्षाहरु राष्ट्रिय परीक्षा बोर्डले नै लिने भए पनि यस वर्ष कोभिडका कारण स्कूलले नै लिन पाउने सुविधा दिइएको थियो ।

परीक्षा छुटेर निरास भएकी उनलाई त्यतिबेला आशा जाग्यो, जतिबेला विद्यालयबाट आएको फोनबाटै मौका परीक्षा दिने जानकारी पाइन् । स्कूलले पनि परीक्षा दिन पाउने बताएपछि उनी शिक्षक शिरीषकुमार बस्ताकोटीको सम्पर्कमा पुगिन् ।

रञ्जुले छुटेको परीक्षा स्कूलमा भने दिन पाइनन् । शिक्षक बस्ताकोटीले रुपातालको कुनै होटलमा लगेर परीक्षा दिने व्यवस्था मिलाएको र त्यतै जाने भनेपछि उनी पनि राजी भइन् । र, शिक्षककै मोटरसाइकलमा बसेर लेखनाथतर्फ लागिन् ।

‘परीक्षा छुटेर म पनि तनावमा थिएँ । फेरि परीक्षा दिन पाइन्छ भन्ने थाहा पाएपछि म सरको सम्पर्कमा गएँ’, रञ्जुको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले भने, ‘सरले लेखनाथ गएर परीक्षा दिनुपर्छ भनेपछि उहाँकै बाइकमा बसेर गएकी हुँ ।’

साँझ करिब ४ बजेतिर रुपाताल नजिकैको एउटा होटलमा पुगेपछि रञ्जुले फेल भएका परीक्षा पनि दिइन् । दुवै परीक्षा सकेर बुझाउँदा करिब ६ बजेको थियो । परीक्षा सकेर घर फर्किने बेला भने शिक्षकले अर्कै व्यवहार देखाउन थाले । त्यसपछि उनी छक्क परिन् ।

‘अब घर जाऔं भन्नेबेला उहाँले यतै बसौं भन्न थाल्नुभयो । मैले मानिनँ । केही झगडापछि म त्यहाँबाट निस्किएँ’ रञ्जुले भनेकी छिन्, ‘लेखनाथबाट पोखरा फर्किन धेरै ढिलो भइसकेको थियो । त्यसैले आउँदा भने सरकै बाइकमा बसेर आएकी हुँ ।’

कसरी बाहिरियो घटना ?

घटना भएको करिब दुई महिना पछि मात्रै प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । तर, यसबीचमा घटनाबारे जानकारी सबैभन्दा पहिले विद्यालय व्यवस्थापन समितिलाई पुगेको खुलेको छ ।

यसबारे अनुसन्धान गर्न विद्यालय व्यवस्थापन समितिले छानबिन समिति नै गठन गरेको थियो । उक्त समितिले छानबिनपश्चात बाँकी प्रक्रियाका लागि राष्ट्रिय परीक्षा बोर्डलाई गुहारेको थियो । छानबिनका क्रममा गैरकानूनी तरिकाले परीक्षा लिइएको मात्रै नभई शिक्षकबाट अमर्यादित कार्य गरेको खुलेको थियो ।

‘सुरुमा त किन ढिलो परीक्षा लिएको भन्ने प्रश्न उठेपछि त्यसको छानबिन सुरु हुन थाल्यो । तर, छानबिनकै क्रममा शिक्षकबाटै अमर्यादित कार्य भएको पनि खुल्यो,’ छानबिन समिति स्रोतले नेपाल प्रेससँग भन्यो, ‘बाँकी काम कारबाहीका लागि परीक्षा बोर्ड गुहार्नै पर्ने देखिएर गुहारेका हौं ।’

होटलमा लगेर परीक्षा लिएको थाहा पाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद दवाडीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले नै थप छानबिनका लागि परीक्षा बोर्डमा प्रतिवेदन बुझाएको थियो ।

घटनाबारे थप बुझ्न खोज्दा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा छानबिन समिति संयोजक मोहनप्रसाद दवाडीले बाँकी अनुसन्धान प्रहरीले नै गर्ने बताए । ‘मुद्दा दर्ता भइसक्यो । अब बाँकी कुरा प्रहरीले नै पत्ता लगाउला । हामीलाई पनि बाहिर नबोल्नु भन्ने आदेश आएको छ’, उनले भने ।

परीक्षा दिनका लागि विद्यालय होइन होटल जाउँ भन्दा छात्रा खुरुखुरु पछि लागेर किन गइन् र उनले लामो समयसम्म सो घटनाबारे किन बताइनन् ? यो रहस्य अझै खुलेको छैन । अझ उनले होटलमा सरले वियर पनि पिउन लगाएको बयान समेत दिएको बताइन्छ ।

यी सबै घटनाक्रमले विद्यालय व्यवस्थापन समितिमा होटलबाट परीक्षा दिइएको जानकारीपछि मात्र यो प्रकरण बाहिर आएको बुझ्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर