उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन – Nepal Press

उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन

काठमाडौं । उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न राष्ट्रिय मानव आधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । तराई मधेशका उखु किसानको श्रम तथा सम्पत्तिको अधिकार, उनिहरुले लामो समयदेखि गरिरहेको माग तथा संघर्षका कार्यक्रमलाई नजिकबाट अनुगमन गरिरहेको आयोगले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

आयोगको प्रदेश कार्यालय जनकपुरले नेपाल सरकार र उखु किसान संघर्ष समितिबिच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन अवस्था सम्बन्धमा धनुषा, सर्लाही, महोत्तरी जिल्लाको हालै स्थलगत अनुगमन पनि गरेको आयोगका प्रवक्ता समेत रहेका सह–सचिव डा. टीकाराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

आयोगले अनुगमनका क्रममा संघर्ष समितिका संयोजक, चिनी मिल व्यवस्थापन र स्थानीय उखु किसानसँग छलफल गर्नुका साथै विरोध प्रदर्शनको क्रममा काठमाडौंमा गत पुस १४ गते मृत्यु भएका नारायण राय यादवको सर्लाहीस्थित घरमा पुगी उनको परिवारको आर्थिक, सामाजिक अवस्था तथा उखु किसानले उखुको बक्यौता रकम अझै प्राप्त गरे-नगरेको सम्बन्धमा जानकारी लिएको छ ।

चिनी उद्योगीले उखु किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम नेपाल सरकारसँग भएको सम्झौता अनुरूप सम्झौताको २१ दिनभित्र भुक्तानी दिनुपर्नेमा किसानले आंशिक रकम मात्र प्राप्त गरेको आयोगले जनाएको छ । मृतक यादवको परिवार तथा अन्य किसानले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम सम्झौता अनुसार तत्काल उपलब्ध गराउन तथा त्यसरी बक्यौता रकम उपलब्ध नगराउने उद्योगीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको प्रवक्ता पोखरेलले बताए । किसानको हक अधिकारको सम्मान र संरक्षण गर्न आयोगले सम्बन्धित सबै पक्षलाई पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर