घुससहित तीन प्रहरी पक्राउ, पार्किङ गरेबापत पैसा असुल्थे – Nepal Press

घुससहित तीन प्रहरी पक्राउ, पार्किङ गरेबापत पैसा असुल्थे

काठमाडौं । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९ः०० बजे पुलचोकबाट पक्राउ गरेको हो ।

कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिए ।

उनीहरुको साथबाट घुसबापत लिएको  दुई हजार १५० समेत बरामद गरिएको छ । उनले भने, ‘पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया शुरु गरिएको छ ।’ गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उनले बताए।

पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यानलगायतका सवारी चालकसँग रकम लिएको उनले बताए।

सात अर्ब ५१ करोड राजस्व असुली

आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको छ महिनामा सात अर्ब ५० करोड ९९ लाख राजस्व असुली गरेको छ ।

राजस्व विभागले पुस महिनासम्मका लागि दिएको लक्ष्यको ८७ दशमलव ८३ प्रतिशत राजस्व असुली गरेको हो । कार्यालयका सूचना अधिकारी कपिलराज नेपालका अनुसार पुस मसान्तसम्मको लक्ष्य आठ अर्ब ५५ करोड तीन लाख ११ हजार रहेको थियो ।

विभागले कार्यालयलाई यस वर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिएको थियो । पुस महिनासम्ममा सो लक्ष्यको ३९ दशमलव ७० प्रतिशत राजस्व सङ्कलन भएको हो ।

नेपालका अनुसार चालु आवको पुससम्ममा आयकरतर्फ एक अर्ब सात करोड ३४ लाख दुई हजार, बहालकरतर्फ २२ लाख ६० हजार, ब्याजकरतर्फ छ करोड ८७ लाख १२ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ७१ लाख ७४ हजार, अन्तःशुल्क पाँच अर्ब तीन करोड ३९ लाख १२ हजार, शिक्षा सेवा शुल्कमा रु एक लाख १५ हजार र स्वास्थ्य सेवा करमा ३९ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

गत आवको पुस मसान्तसम्ममा १५ अर्ब चार करोड ४४ लाख ७७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवसँगै नवलपुर क्षेत्रको राजस्व कावासोती कार्यालयमा सङ्कलन हुन थालेपछि यहाँको राजस्व सङ्कलनमा कमी आएको हो । नवलपुर क्षेत्रमा मदिराजन्य ठूला उद्योग छन् ।रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर