देउवाले नेताहरुसँग भने– भीम आचार्य कांग्रेस विरोधी हो, सघाउन सकिन्न – Nepal Press
प्रदेश १ राजनीति

देउवाले नेताहरुसँग भने– भीम आचार्य कांग्रेस विरोधी हो, सघाउन सकिन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईलाई नै निरन्तरता दिने संकेत गरेका छन् । पार्टी नेताहरुसँगको भेटमा देउवाले प्रचण्ड–माधव पक्षले राखेको अविश्वास प्रस्तावको पक्षमा ‘मतदान’ गर्न अनिच्छा देखाएका हुन् ।

आफ्नै निवास बूढानीलकण्ठमा प्रदेश नम्बर १ बाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुसामु देउवाले अविश्वास प्रस्ताव पारित गरेर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।

देउवाले आचार्यलाई कांग्रेसप्रति अनुदार नेताको रुपमा चित्रण गर्दै सहयोग गर्न नचाहेको बताएका हुन् । उनलाई भीम आचार्यप्रति कसले नकारात्मक बनायो भन्ने चाहिं प्रष्ट भएको छैन ।

‘भीम आचार्य कांग्रेस विरोधी मान्छे हो । उसले कांग्रेसलाई धेरै दुःख दिएको छ । हामीले कसरी मुख्यमन्त्री बनाउनु ?’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

सभापति देउवाले प्रत्यक्ष रुपमा शेरधनको पक्षमा नबोले पनि भीम आचार्यलाई अस्वीकार गरेको बैठकमा सहभागी ती नेताले बताए । शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने नेकपा प्रचण्ड–माधव पक्षले भीम आचार्यलाई वैकल्पिक मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् ।

अविश्वास प्रस्ताव पारित भए आचार्य मुख्यमन्त्री बन्नेछन् । यद्यपि उनले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ । अविश्वास प्रस्ताव पारित हुन प्रदेश सभाका ४७ सांसदले मत दिनुपर्छ । आचार्यको पक्षमा नेकपामा ३३ सांसद छन् ।

देउवाको आशय प्रदेश १ मा शेरधनको निरन्तरता र वागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउनेतर्फ लक्षित रहेको देखिन्छ । ओली पक्षसँग मिलेर देउवाले प्रदेशमा सरकार बनाउन खोजेको आशंका कांग्रेस नेताहरुको छ ।

‘भीम आचार्यप्रति सभापतिजी अनुदार देखिनुभयो । अविश्वास प्रस्ताव पारित भए कांग्रेसविरोधी मान्छे मुख्यमन्त्री बन्छ भन्ने उहाँको धारणा देखियो’, बैठकमा सहभागी एक नेताले भने ।

ती नेताका अनुसार आचार्यलाई कांग्रेसविरोधी नेताको रुपमा चित्रण गरेर सभापति देउवा अविश्वास प्रस्ताव असफल गराउन चाहन्छन् ।

१ नम्बर प्रदेशका नेताहरुसँगको छलफलको सुरुमै सभापति देउवाले नेताहरुलाई उपयुक्त सुझाव दिन आग्रह गरेका थिए । सुझाव दिने क्रममा अधिकांशले अविश्वास प्रस्ताव पारित गराउन मत दिनुपर्ने सुझाव दिएका छन् ।

यस्तो सुझाव दिनेमा देउवा पक्षकै नेताहरु समेत रहेका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल भीष्मराज आङदेम्बे, गुरुराज घिमिरेलगायतले प्रतिपक्षी दल हुनुका नाताले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका थिए ।

‘त्यही इटहरी चोकमा केपी ओली विरुद्ध नाराबाजी गरेर नजिकैको प्रदेश सभामा केपी ओलीको मान्छेको पक्षमा मतदान गर्न सकिंदैन’, बैठकमा देउवा पक्षका नेता आङ्देम्बेले भनेका थिए ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशहरुमा दर्ता भएका अविश्वास प्रस्तावबारे पार्टीले नीतिगत निर्णय लिनुपर्ने बताएका थिए ।

बैठकको अन्तिममा सभापति देउवाले प्रदेश ३ का नेताहरुसँगको छलफलपछि उचित निर्णय लिने निष्कर्ष सुनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर