बैठक चलिरहँदा प्रदेश १ सभाबाहिर प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शन – Nepal Press

बैठक चलिरहँदा प्रदेश १ सभाबाहिर प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शन

विराटनगर । प्रदेश १ सभाको बैठक चलिरहँदा नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताले मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सो समूहले मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेको छ । उनीहरूले संसद पुन:स्थापनाको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिनुपर्ने नारा लगाए ।

प्रदेशसभा परिसरभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रहरीले पूर्वमा देवकोटा चोक र पश्चिमतर्फको नाका अस्पताल चोकदेखि आवतजावतमा रोक लगाएको थियो ।

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर आजको बैठक सकिएको थियो । सभामुख प्रदीपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्‍चितकालीन स्थगित भएको जानकारी गराए । बैठकमा मुख्यमन्त्री शेरधन राई भने उपस्थित थिएनन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएर ओलीको खेमामा फर्किएका सांसदहरुमध्ये उदयपुरकी कला घलेबाहेक अन्य सांसद प्रदेश सभा बैठकमा अनुपस्थित थिए । जसमाया गजमेर, श्रीप्रसाद मैनाली गोपालचन्द्र बुढाथोकी र सितादेवी यादव सहभागी भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर