कांग्रेस, गणेशमान र प्रकाशमान – Nepal Press
चाक्सीबारी सम्मेलनको ३१ वर्ष

 कांग्रेस, गणेशमान र प्रकाशमान

२०४६ सालको परिवर्तन र २०४८ सालको आमचुनावपछि देशमा ठूलै राजनीतिक परिवर्तन आयो ।

स्वाभिमान र निष्ठाको संस्कार बसाल्न सर्वमान्य नेता गणेशमान सिंहले राजा वीरन्द्रले किस्तीमा सजाएर दिएको प्रधानमन्त्री पद समेत त्याग गर्नुभयो । कतिपयले पार्टी र सरकारको उच्च पदमा पुगेर सम्मानको इतिहास बनाएर जानुभयो ।

भोगको राजनीतिमा रमाउँदा अहिले पनि केही नेताहरू जनता र पार्टी कार्यकर्ताबाट आलोचित र घृणित भएको थाहै नपाए जस्तो गरी टिकिरहेका छन् ।

समयक्रममा वागमतीमा थुप्रै पटक भेलबाढी आयो होला ! नदी किनारका सुकुम्बासी बस्तीलाई सतायो पनि होला ! कहिलेकाहीं सफा भयो होला । कहिले फोहोरको डङ्गुर जम्मा भएर दुर्गन्धित भयो पनि होला ।

सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सम्पन्न जनआन्दोलनले देशमा प्रजातन्त्र पुनस्र्थापना त भयो तर बीपी कोइरालाको दूरदृष्टि र गणेशमान सिंहको त्याग अनि स्वाभिमानले देश र जनतामा के कति परिवर्तन आयो ? यो विषयमा पछि चर्चा गरौंला ।

महामन्त्रीमा निर्वाचित नेता प्रकाशमान सिंहले पार्टीभित्र सीमित नेतालाई खुशी पार्न कहिल्यै गुटको राजनीति गरेनन् । यो नैतिक संस्कारले गर्दा सीमित मान्छे बेखुसी होलान् तर देशभरका आम कार्यकर्ताहरू नेता सिंहको निष्ठावान् र स्वाभिमानी राजनीतिक व्यवहारबाट प्रभावित छन् ।

बीपी र गणेशमानले हुर्काएको लोकतन्त्रको लागि स्वर्णिम इतिहास बनाएको नेपाली कांग्रेस अहिलेको पार्टी नेतृत्वको अकर्मण्यताको कारणले बाटो बिराएको यात्रु जस्तै भएर चौबाटोमा अलपत्र परेको छ ।

लोकतान्त्रिक आन्दोलनमा पार्टीको कार्यकर्ता बनेर रगत र पसिना बगाउने पुराना नेतालाई अनुशासनको नाममा कारबाही गर्ने काम हुँदैछ ।

कति दुःख लाग्ने कुरा; गुटका नाइकेहरूले पार्टीभित्र लाभका पद भागबन्डामा बाँडे जस्तै आफ्नो गल्तीलाई लुकाएर आफूलाई मन नपर्ने नेतालाई भागबन्डामा कारबाही गरे ।

आजको दिन चाक्सीवारी विशेष भएकोले पनि गणेशमान पुत्र पूर्व महामन्त्री तथा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई जोडेर विगतदेखि अहिलेसम्म थोरै मात्र भए पनि केलाउने प्रयास गरिएको छ ।

२०४६ साल माघ ५ देखि ७ गते गणेशमान सिंह निवास चाक्सीवारीमा भएको नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन अहिलेसम्म आइपुग्दा ३१ वर्ष पूरा भएछ ।

चाक्सीवारीमा भएको नेपाली कांग्रेसको त्यो सम्मेलन आफैंमा ऐतिहासिक भएको थियो । त्यतिबेला कांग्रेस काठमाडााै‌ जिल्ला सभापतिमा प्रकाशमान सिंह थिए भने छिमेकी मित्रराष्ट्र भारतका समाजवादी नेता चन्द्रशेखरको उपस्थिति आफैंमा महत्वपूर्ण थियो ।

१३ औं महाधिवेशनमा गठन भएका तीन गुट सिटौला, पौडेल र देउवा (सिपौदे) प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असफल जस्तै देखिएको अवस्था छ । आसन्न महाधिवेशनमा सभापति पदका आकांक्षी उम्मेदवारमा फरक–फरक अनि आ–आफनै विशेषता बोकेका केन्द्रीय नेताहरूमध्ये प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, सुजाता कोइराला, विमलेन्द्र निधि, शशांक कोइरालाको नाम चर्चामा छ ।

मूल्य–मान्यताको राजनीतिमा विश्वास गर्ने प्रकाशमान सिंह १२औं महाधिवेशनमा १,६५६ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । नेता सिंहको यो जनमत सभापतिमा पराजित देउवाको भन्दा ३३९, महामन्त्रीका उम्मेदवार विमलेन्द्र निधिको भन्दा ४४० मत बढी हो ।

प्रकाशमान सिंहले स्व. सुशील कोइरालाको विश्वासपात्र र निकट रहेर पार्टी संगठन र सरकार सञ्चालनमा प्रमुख भूमिका निभाएका थिए । उनी पार्टीको महामन्त्री र सरकारको उपप्रधानमन्त्री रहँदाको कार्यकाल प्रशंसायोग्य नै रह्यो ।

नेता सिंहको नैतिकता र स्वाभिमानले गर्दा नै सभापति सुशील कोइरालाको कार्यकाल स्वर्णिम बनेको हो भन्ने धेरै राजनीतिक विश्लेषकको बुझाइ छ ।

अमेरिकाबाट फर्केपछि स्व. कोइरालाको स्वास्थ्य स्थिति कमजोर बन्दै गयो । उनलाई भेट्न जानेहरू सबैको मुख्य चासोको विषय आगामी पार्टी नेतृत्व कसले सम्हाल्ला भन्ने हुने गर्दथ्यो ।

नेता सिंहको नैतिकता र स्वाभिमानले गर्दा नै सभापति सुशील कोइरालाको कार्यकाल स्वर्णिम बनेको हो भन्ने धेरै राजनीतिक विश्लेषकको बुझाइ छ ।

जिद्दी र एकोहोरो स्वभावका देउवा अनि ढुलमुल चरित्र र कमजोर नेतृत्व क्षमताका रामचन्द्र ! अधिकांश केन्द्रीय र जिल्ला तहका नेताहरूको गुनासो र चिन्ता यहींनिर हुने गर्दथ्यो । स्वास्थ्यले साथ दिएको भए सुशील दाइ आफैं सभापति बन्ने सोचमा हुनुहुन्थ्यो भनेर भन्छन् उनी निकट केही केन्द्रीय नेताहरू ।

तर दुर्भाग्यवश १३औं महाधिवेशनको पूर्वसन्ध्यामा सभापति सुशील कोइरालाको देहान्त भयो ।

तत्कालीन संस्थापन पक्षबाट सभापति पदमा उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहको दाबी रह्यो । त्यो बेला रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा प्रकाशमान सिंहलाई छाडिदिने भनेपछि वरिष्ठतालाई ख्याल गरेर रामचन्द्र पौडेललाई सभापतिमा स्वीकारेका रहेछन् नेता प्रकाशमान सिंहले । इतरपक्षबाट शेरबहादुर देउवा सभापतिका उम्मेदवार बने ।

१२औं महाधिवेशनसम्म सुशील कोइराला र प्रकाशमान सिंहसँगै हिंडेका नेता अर्जुननरसिंह केसी र गगनकुमार थापा १३औं महाधिवेशनमा पौडेल टीममा किन अटेनन् ? खुमबहादुर खड्का, केबी गुरुङ, विनयध्वज चन्द, गोविन्दराज जोशी र चन्द्र भण्डारीले रामचन्द्र पौडेललाई किन छोडे ? अवसरका लागि चतुर्याइँ गर्न जानेका कृष्ण सिटौलाले गगन थापाको साथ लिएर ‘थर्ड पोल’को नाममा कसरी गुटका नेता बने ?

यी प्रश्नहरूको उत्तर अर्को पटक खोजाै‌ला । अधिवेशनको मुखैमा आएर राम्रो जनमत भएका नेताहरू आ–आफ्नै ध्रुवीकरणमा लागेपछि सभापतिमा रामचन्द्र पौडेल कमजोर बन्दै गए ।

पौडेल टीमका उम्मेदवारले रामचन्द्र पौडेललाई खुलेर सहयोग नगरेको कुरा बाहिर, व्यवहारमा त्यस्तै देखियो ।

अघिल्लो महाधिवेशनको नेता सिंहको लोकप्रिय मत देखेर देउवालाई हराउन रामचन्द्र पौडेललाई मनाएर सभापतिमा प्रकाशमान सिंहलाई नै उम्मेदवार बनाउने कि ? पौडेलसँग रुष्ट केन्द्रीय नेताले प्रकाशमान सिंहलाई स्वीकार गर्थे कि ? पौडेल टीमभित्र यस्तै यस्तै थुप्रै चर्चा पनि चलेका रहेछन् ।

‘यस पटक मैले रामचन्द्र दाइलाई वचन दिइसकेको छु म बेइमानीको राजनीति गर्दिनँ’ भनेर प्रकाशमानले भनेका कुरा बाहिर आयो । १३औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिमा जिताउन भरपुर सहयोग गरेको कुरा स्वयं स्वीकार्छन् रामचन्द्र पौडेल अहिले पनि ।

महामन्त्रीमा निर्वाचित नेता सिंहले पार्टीभित्र सीमित नेतालाई खुशी पार्न कहिल्यै गुटको राजनीति गरेनन् । सरकारको उपप्रधानमन्त्री रहँदा कसैको व्यक्तिगत स्वार्थको निम्ति कुनै विवादित काम गरेनन् । नेता सिंहको यो नैतिक संस्कारले गर्दा सीमित मान्छे बेखुसी होलान् तर देशभरका आम कार्यकर्ताहरू नेता प्रकाशमान सिंहको निष्ठावान् र स्वाभिमानी राजनीतिक व्यवहारबाट प्रभावित छन् ।

निरन्तर ४० वर्षदेखि एकदलीय पञ्चायत व्यवस्था विरुद्ध, शाही शासनकालको विपक्षमा, पार्टी नेतृत्वको अतिवाद, कम्युनिष्ट सरकारको सर्वसत्तावादी सोच र अरबौंको भ्रष्टाचार मुद्दामा नेता सिंह जहिल्यै पनि अग्रस्थानमा रहे ।

नेता सिंहलाई जिल्ला तहदेखि केन्द्रीय राजनीतिसम्म पिताको नाम र शीर्ष नेताको आशीर्वाद एवं कृपाले कुनै पनि पद ग्रहण गर्न परेन । पार्टीमा वरिष्ठतम, विगतको कार्यानुभव, कार्यकर्ताबाट प्राप्त लोकप्रिय मत र सामूहिक भावनामा चल्न सक्ने स्वभाव भएका नेता सिंहको मूल विशेषता हो ।

बौद्धिक, लोकप्रिय, युवाको आकर्षण, लिगेसी सेन्टिमेन्ट बोकेका सबैको भावनालाई समेटिने गरी आसन्न महाधिवेशनको टिम निर्माणका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको अभिभावकत्वमा आफैं प्रस्तावक बनेर नेता प्रकाशमान सिंहलाई सभापति उम्मेदवारमा प्रस्ताव गर्नेछन् ।

नेपाली कांग्रेसका लोकप्रिय तथा बौद्धिक नेता अर्जुननरसिंह केसीको सोचमा आधारित सामूहिक नेतृत्वको प्रतिनिधित्व हुने गरी आउने केन्द्रीय नेतृत्वले कांग्रेस पार्टीलाई सही दिशामा डो¥याउन सक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *