आर्मी सेमिफाइनल नजिक, प्रदेश १ उपाधि होड बाहिर – Nepal Press

आर्मी सेमिफाइनल नजिक, प्रदेश १ उपाधि होड बाहिर

काठमाडौं । त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै प्रदेश नम्बर १ राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा आर्मीसँग ४ रनले पराजित भएसँगै प्रदेश १ को सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको हो ।

अर्कातिर त्रिभुवन आर्मी क्लब लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’का सुरुआती तीन खेलमा जित हासिल गर्दै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।

कप्तान सिद्धान्त लोहनीले टस जितेर ब्याटिङ रोजेपछि क्रिजमा उत्रिएको प्रदेश १ ले ४०।१ ओभरमा सबै विकेट गुमाएर १३१ रनको योगफल तयार गरेको थियो । १३२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २९।५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

आर्मीका लागि रोहित पौडेलले ३१ बलमा ४ चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । भीम सार्कीले ६१ बलमा १ चौका र १ छक्कासहित २९ रन बनाएका थिए । ओपनर लोकेश बमले १३ र राजेश पुलामी मगरले अविजित २४ बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

प्रदेश १ का लागि फिर्दोस अनसारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभन्कर उराओले १/१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको प्रदेश १ का लागि बिबेक मेहेताले ८३ बलमा ७ चौका र १ छक्कासहित अर्धशतकीय इनिङ खेलेका थिए । त्यस्तै, फिर्दोस अनसारीले ३२, दीपक पासवनले १९, र दिपेश कँडेलले ११ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नसकेका थिएनन् ।

आर्मीका लागि साहब आलमले सर्वाधिक ४ र आकाश चन्दले ३ तथा सुशन भारी, भीम सार्की र राजेश पुलामीले १/१ विकेट लिएका थिए ।
ब्ब


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *