होटलमा परीक्षा दिन लगाउने प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ – Nepal Press

होटलमा परीक्षा दिन लगाउने प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको आरोपमा ३ शिक्षक पक्राउ परेका छन्  ।

पोखरा महानगरपालिका -१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका -१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका -१ बाघबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् ।

उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएका थिए ।

शिक्षकले प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *