निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण – Nepal Press

निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । निर्माण व्यवसायी महासंघ वागमती प्रदेश समितिले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिप्रति मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष सुबित श्रेष्ठको टोलीले मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना महामारीको विषम परिस्थितिमा फलामजन्य निर्माण सामग्रीमा अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपातभन्दा बढी देखाई एकतर्फी रूपमा कार्टेलिङ गरी महंगो बनाइएको श्रेष्ठले बताए ।

उनका अनुसार देशभर नदीजन्य र खानीजन्य निर्माण सामग्रीको उत्खनन र बिक्री वितरणमा गृहमन्त्रालयले गरेको नियन्त्रणले व्यवसायीहरूलाई मर्का परेको छ ।

‘सीमित व्यवसायीको मिलेमतोबाट निर्माण सामग्रीहरुमा अत्यधिकरूपले मूल्यवृद्धि गरेकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

केही महिनाको बीचमा फलामजन्य निर्माण सामग्रीहरूमा प्रति केजी २० रूपैयाँभन्दा बढी मूल्य बढेको छ । त्यस्तै अन्य सामग्रीहरू ४९ प्रतिशतभन्दा महंगिएको छ । नदी र खानीजन्य समग्रीहरूको स्रोत दरको मूल्य दोब्बर बढेको महासंघले जनाएको छ ।

लकडाउनका कारण रोकिएका निर्माणको कामलाई पुन: म्याद थपका लागि सहज वातावरण बनाउन पनि निर्माण व्यवसायीले माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *