चक्रपथ विस्तारमा अनुचित माग र अर्घेल्याई स्वीकार्य हुन्न– उपप्रधानमन्त्री पोखरेल – Nepal Press

चक्रपथ विस्तारमा अनुचित माग र अर्घेल्याई स्वीकार्य हुन्न– उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चक्रपथ सडक विस्तारका क्रममा राखिने अनुचित माग र अर्घेल्याई स्वीकार्य नहुने प्रष्ट पारेका छन् । पोखरेल आफैंले प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधान बैठकमा यस्तो बताएका हुन् ।

पोखरेलले चक्रपथ विस्तारको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहविचको समन्वयात्मक बैठक आयोजना गरेका थिए । बैठकमा काठमाडौं चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौतिबारे छलफल भएको छ ।

कलंकीदेखि धोबीखोला सम्मको कुल साढे ११ किलोमिटर सडक निर्माणका क्रममा महाराजगन्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर, सडक क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायतका पदाधिकारीहरुलाई दोस्रो पटक बोलाएर छलफल गरेका हुन् ।

सबैपक्षको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले सडक विस्तारका क्रममा अनुचित माग र अर्घेल्याई स्वीकार्य नहुने बताए । सम्वद्ध पक्षलाई अनुचित कुराको पछि नलाग्न निर्देशन दिदैं उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सवै निकायबीच समन्वय गरेर अघि बढ्न निर्देशन दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउदैं लैजानुपर्ने बताएका थिए । त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राज्यको नीतिमा सवैको अपनत्व आवश्यक भएको बताए ।

छलफलमा काठमाडौं महानगरपालिकाका वडा नं ३ का अध्यक्ष दिपक केसी, वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल, पुरातत्व विभागका प्रतिनिधि, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, नापी विभागका अधिकारीले आ-आफ्नो क्षेत्रमा देखा परेका समस्या र समाधानका निम्ती भैरहेको पहलका वारेमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर