अविश्‍वास प्रस्ताव सामनाको रणनीति बनाउन ओलीपक्षीय संसदीय दलको बैठक जारी – Nepal Press

अविश्‍वास प्रस्ताव सामनाको रणनीति बनाउन ओलीपक्षीय संसदीय दलको बैठक जारी

विराटनगर । नेकपा ओलीपक्षीय संसदीय दलको बैठक फनपार्कमा बसेको छ । दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले भोलि प्रदेश सभाको बैठकमा अविश्‍वासको प्रस्तावको सामना गर्न रणनीति बनाउने बताइएको छ ।

प्रदेश सभाको हिउँदे अधिवेशन भोलि २ बजेदेखि शुरू हुँदैछ ।

प्रचण्ड-माधव पक्षका सांसदहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराएका छन् । आफ्नो पक्षमा ४२ सांसद रहेको बताएपनि शुरूमा अविश्‍वासको प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये ५ जना सांसदले हस्ताक्षर फिर्ता लिएर मुख्यमन्त्री राईलाई साथ दिएका छन् । राई नेतृत्वको सरकारको कित्तामा आएका प्रदेश सभा सदस्यहरूमा जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, कला घले र बसन्तीदेवी यादव छन् ।

संसदीय दलका नेता शेरधन राईले १६ सांसदलाई कारबाही गरेसँगै उनीहरूलाई प्रदेश सभा बैठकमा प्रवेश रोक लगाउने तयारीमा रहेको प्रमुख सचेतक बुद्विकुमारराज भण्डारीले जानकारी दिए ।

पार्टी विभाजन भइनसकेको अवस्थामा दलको नेता शेरधन राईनै भएकाले दलको नेताको हैसियतमा उनीहरूलाई कारबाही गरिएकाले उनीहरूले अब प्रदेश सभाको काम कारबाहीमा सहभागी हुन नपाउने उनको दाबी छ ।

दुवै समूहले एक-अर्कालाई गरेको कारबाही अवैधानिक भएको दाबी गर्दै प्रदेश सभाको भोलिको बैठकमा सहभागी हुने पक्षमा प्रचण्ड-माधव पक्ष रहेका छन् भने ओली पक्षले कारबाही गरेका सांसदलाई प्रवेश नदिने तयारीमा छन् । जसका कारण भोलिको प्रदेश सभा बैठक मुडभेठतर्फ जाने सम्भावना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर