बेवारिसे शवको व्यवस्थापन गर्न मानव अधिकार आयोगको निर्देशन – Nepal Press

बेवारिसे शवको व्यवस्थापन गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । बेवारिसे शवको अस्थायी रुपमा व्यवस्थापन गरेर अभिलेख राख्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ ।

पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यास अनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका माग राखेर डा.सुगम केसी, सुनील महर्जन र रोहित श्रेष्ठ १० दिनदेखि माइतीघर मण्डलामा धर्नामा रहेका बेला आयोगले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले आफ्नो पहिचान, धर्म, संस्कृति र परम्परा अनुरूप प्रत्येक व्यक्ति र उसको परिवारले मृतकको अन्त्येष्टि गर्न पाउनुपर्ने अधिकारको सम्मान गर्दै बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न, शवको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन तथा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको आयोगका प्रवक्ता समेत रहनुभएका सह–सचिव डा. टीकाराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आयोगले पहिचान नखुलेका शवको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको कानुनी व्यवस्था निर्माण गरी कार्यान्वयन गर्न र आवश्यक निर्देशिका बनाई शवको अभिलेख दुरुस्त हुने गरी अस्थायी रुपमा व्यवस्थापन गर्न नेपाल सरकारलाई ३ वर्ष अघि २०७४ फागुन २ गते सिफारिस गरेको पनि स्मरण गराएको छ ।

पहिचान नखुलेका शवको व्यवस्थापन सम्बन्धमा आयोगबाट नेपाल सरकारलाई यसअघि गरिएको सिफारिस कार्यान्वयन हुनुपर्ने, सबै बेवारिसे शवको प्रष्ट मुखाकृति देखिने फोटो र संक्षिप्त विवरण राष्ट्रिय र स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक गरिनुपर्ने, नेपाल सरकारले बेवारिसे र हराएका मानिसको लागि अन्य देशको जस्तै छुट्टै वेबसाइट खोली बेवारिसे शवको पहिचान गर्न पाउने हक सुनिश्चित गर्नुपर्ने जस्ता माग राखी उनिहरु धर्नामा बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर