कांग्रेस संसदीय दलका प्रवक्ता भन्छन्– अदालतको निर्णय मान्छौ – Nepal Press

कांग्रेस संसदीय दलका प्रवक्ता भन्छन्– अदालतको निर्णय मान्छौ

पोखरा । गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता सांसद प्रकाशचन्द्र दवाडीले आफूहरुले प्रतिनिधिसभा विघटनबारे अदालतको निर्णय नै मान्ने बताएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दवाडीले अदालतमा विचाराधीन विषयमा बोल्नु उचित नरहेको धारणा राखेका हुन् ।

‘प्रधानमन्त्रीले चालेको कदमप्रति नेपाली कांग्रेसको आपत्ति छ । त्यसको विरोध पनि गर्दै  आएका छौं । तर, अदालतमा विचाराधीन विषयमा धेरै बोल्नु हुँदैन,’ प्रवक्ता दवाडीले भने, ‘अदालतले जे निर्णय गरेपनि हामीलाई मान्य हुनेछ ।’

सांसद दवाडीले आफूहरु पाँचै वर्ष प्रतिपक्षको भूमिका निभाउन आएकाले प्रतिनिधिसभा विघटनमा खुुसी भने नलागेको बताए । ‘नेकपा विभाजन हुँदा प्रतिपक्ष भएका नाताले मलाई खुसी लाग्नु पर्ने हो । यही समयमा जनमतमा जान पाउनु पनि खुसीकै कुरा हो,’ उनले भने, ‘तर, संघीयता नै अप्ठेरो हुने गरी जनमतकै अपमान गर्दा दुख लागेको छ ।’

नेकपाको लडाइँ कुर्सीकै लागि भएको आरोप लगाउँदै सांसद दवाडीले नेकपाले आफूलाई सिध्याउने बाटोमा लागेको बताए । ‘नेकपाले आफूलाईमात्रै सिध्याएको छैन, एउटा व्यवस्था सिध्याएको छ, जनताको राजनीतिप्रतिको विश्वास नै सिध्याएको छ,’ उनले भने ।

सबै सरकारी सेवा सुविधा जनताकै नाममा !

सांसद दवाडीले चुनावअघि आफूले पाउने सम्पूर्ण सरकारी सेवा सुविधा ‘जनताकै नाममा’ लगानी गर्ने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम आफूले निर्वाचन क्षेत्रमा खर्च गरिरहेको पनि उनले दाबी गरेका छन् ।

सांसद दवाडीले गत पुसदेखि यस वर्षको पुस मसान्तसम्म करिब ९ लाख रुपैयाँ जनतालाई नै वितरण गरिसकेको जनाएका छन् । ‘आफूले पाएको सेवासुविधामा थप गरेर जनतालाई नै दिन्छु भनेको थिएँ । त्यही घोषणा बमोजिम नै वाचा पूरा गरेको हुँ,’ उनले भने ।

सांसद दवाडीले निर्वाचित भएको पहिलो वर्ष करिब १२ लाख रुपैयाँ, गत आर्थिक वर्षमा १० लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिएका छन् । उनी गोरखा क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर