प्रदेशसभा बैठक: उचाल्नै नमिल्ने गरी कुर्सी कसियो, मर्यादापालक बढाइयो – Nepal Press
प्रदेश १

प्रदेशसभा बैठक: उचाल्नै नमिल्ने गरी कुर्सी कसियो, मर्यादापालक बढाइयो

विराटनगर । प्रदेश नम्बर १ को बुधबार बस्ने प्रदेशसभा बैठकका लागि विशेष तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाले अविश्वास प्रस्ताव दर्ता गराएसँगै हुनसक्ने जोखिम कम गर्न सुरक्षालगायतको विशेष तयारी गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

सम्भावित दुर्घटना रोक्न प्रदेशसभाका सांसदको कुर्सी कसिलो बनाइएको बनाइएको छ भने मर्यादापालकको सङ्ख्या पनि बढाइएको छ ।

संसद बैठकमै हुनसक्ने झडप तथा दुर्घटनालाई मध्यनजर गर्दै उचाल्नै नमिल्ने गरी कुर्सी कसिएको सचिवालयले जनाएको छ ।

त्यस्तै १० जना मर्यादापालक पनि थपिएको छ । ४८ मर्यादापालकबाट बढाएर ५८ पुर्याइएको छ । उनीहरूलाई सचिवालयको सुरक्षा शाखाले आवश्यक निर्देशन र संसद बैठक चल्दा हुनसक्ने क्रियाकलापबारे जानकारी गराइरहेको जनाएको छ ।

औपचारिक रुपमा नेकपा फुटिनसकेकाले नेकपाका सबै सांसदलाई पक्ष पक्षकै लहरमा राख्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई प्रदेशसभा बैठकमा प्रवेश नदिने बताएपछि संसदमै झडपको सम्भाबना बढेको हो । प्रचण्ड–नेपाल पक्ष जसरी पनि अविश्वास प्रस्ताव पास गर्ने गरी अघि बढेका छन् भने मुख्यमन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्ने बताइरहेका छन् ।

बुधबारकै बैठकमा अविश्वास प्रस्तावले प्रदेशसभा बैठक प्रवेश पाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर