नागरिक एप: चार दिनमा २ लाख ३३ हजार डाउनलोड, ८५ हजार बढी प्रमाणीकरण – Nepal Press

नागरिक एप: चार दिनमा २ लाख ३३ हजार डाउनलोड, ८५ हजार बढी प्रमाणीकरण

काठमाडौं । सार्वजनिक भएको चौथो दिनसम्म नागरिक एप डाउनलोड गर्नेको संख्या २ लाख ३३ हजार नाघेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको तथ्यांकअनुसार अहिलेसम्म नागरिक एप डाउनलोड गर्नेको संख्या २ लाख ३३ हजार ३४ पुगेको हो ।

एप डाउनलोड गरेकामध्ये ६१ हजार १ सय २८ जनाको प्रमाणीकरण भइसकेको केन्द्रका सूचना अधिकारीसमेत रहेका सहायक निर्देशक रमेश पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार एप डाउनलोड गरिसकेको १ लाख ७० हजार प्रयोगकर्ता भने प्रमाणीकरण हुन बाँकी छन् । नागरिक एपमा नागरिकता प्रमाणीकरण गर्नेको संख्या ४५ हजार ६५ पुगेको छ भने राहदानी प्रमाणीकरण गर्नेको संख्या २२ हजार ४ सय ८४ र मदतादात परिचयपत्र प्रमाणीकरण गर्नेको संख्या १९ हजार ३७ पुगेको छ ।

केन्द्रका अनुसार यस अवधिमा प्यान नम्बर दर्ता गर्नेको संख्या २७ हजार ४ सय पुग्दाँ कर्मचारी संचय कोषमा दर्ता भएकाको संख्या २ हजार ६ सय पुगेको छ । एपमा नागरिक लगानी र सामाजिक सुरक्षा कोषमा आवद्व भएका व्यक्ति जोडिने व्यवस्था भए पनि यसमा भने कोहि पनि जोडिएका छैनन् ।

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको भनाइ छ ।

उनका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु, गृह मन्त्रालयको तथ्यांकअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो ।

परीक्षणका क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिए पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएकाले सुधार गर्ने काम प्राविधिक टोलीले गरिरहेको उनले बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एप सञ्चालनका क्रममा त्रुटी देखिएमा सुझाव दिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

‘अब लाइन होइन्, अनलाइन नागरिक एप परीक्षणको क्रममा छौं, हामी । यसमा भएका सुविधाहरुमा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाहरु हामीलाई भन्नुहोला । डिजिटल नेपाल अभियान, हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउने कडी हो’, मन्त्री गुरुङले भनेका छन् ।

एसएलसी उत्तिर्ण १३ हजार ६ सय ७० जनाले प्रमाणित गरेका छन् भने प्लस टु उतीर्ण गरेका ५ हजार ८ सय ७० जनाले एपमार्फत प्रमाणित गराएका छन् । एपमा हेलो सरकारमार्फत् गुनासो गर्ने व्यवस्था राखिए पनि अहिलेसम्म एउटा पनि गुनासो नआएको सूचना अधिकारी पोखरेलले बताए ।

‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ सरकारले शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’मा प्रयोगकर्ताको आर्कषण देखिएको केन्द्रको दावी छ ।

सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो ।

उक्त एपबाट नागरिकल प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइलमार्फत नै जानकारी लिन सकिने व्यवस्था एपमा गरिएको छ ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

सुरुमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी नागरिक एपमा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको रहेको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर