७ सचिवका लागि २१ सह-सचिव भिड्दै, ६२ सह-सचिवको दरबन्दी खाली – Nepal Press

७ सचिवका लागि २१ सह-सचिव भिड्दै, ६२ सह-सचिवको दरबन्दी खाली

काठमाडौं । आगामी असारसम्ममा ७ सचिव अवकास पाउने छन् । तीमध्ये एक सचिवले अवकास पाइसकेका छन् । अवसकासपछि रिक्त हुने दरबन्दीमा बढुवाका लागि २१ सहसचिव मैदानमा छन् ।

सचिवका लागि सह–सचिव कृष्ण रावत, सुमन अर्याल, भरतमणि सुवेदी, दामोदर रेग्मी, गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुस्कर प्रतिस्पर्धामा छन् ।

जसमा रावत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अर्याल तथ्यांक विभागमा, सुवेदी ५ नम्बर प्रदेशमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पाण्डे उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयमा, बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा र पुस्कर गृह मन्त्रालयमा छन् ।

बढुवा समितिले यीबाहेक अरु पनि बढुवा गर्न सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव एवम प्रवक्ता अधिकारीको भनाइ छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बढुवा समिति छ ।

उक्त समितिले एक सह–सचिवलाई सचिवमा बढुवा गर्दा ३ सह–सचिवको नाम मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गरेको छ । ३ जनामध्ये १ जनाको नाम मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्छ ।

यसअघि ५७ जनाको विशिष्ट श्रेणीमा दरबन्दी रहे पनि काठमाडौं महानगरपालिका र राष्ट्रिय सूचना आयोगको न्याय सेवामा कटौती भएपछि विशिष्ट श्रेणीको दरबन्दी संख्या ५५ पुगेको हो ।

६२ सहसचिवको दरबन्दी खाली

अहिले ६२ सह–सचिव अर्थात् प्रथम श्रेणीको दरबन्दी रिक्त छ । प्रथम श्रेणी अर्थात् सह–सचिव सरहको प्रशासन सेवाको दरबन्दी २ सय ८२ जना रहे पनि २ सय २० जनाको मात्र पदपुर्ती रहेकाले अझै ६२ जना सह–सचिवको दरबन्दी रिक्त रहेको हो ।

सबैभन्दा धेरै गृह मन्त्रालयमा सह–सचिवको दरबन्दी अभाव भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पनि करिव १५ जिल्लामा उप–सचिवले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।

सह–सचिवमा मात्र नभइ उपसचिवमा पनि ८० जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयले जनाएको छ । सह–सचिव दरवन्दी रहेका एउटा महानगरपालिका र केही उप–महानगरपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृतका भरमा छन् ।

मन्त्रालयका अनुसार विरगञ्ज महानगरपालिका, जितपुर सिमरा उप–महानगरपालिका, कलैया उप–महानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भए पनि उपसचिको भरमा छन् ।

विभिन्न मन्त्रालय तथा निकायमा सह–सचिव र उप–सचिवको दरबन्दी अनुसार पदपुर्ती हुन नसकेपछि काममा पनि प्रभाव परेको छ । तर पदपूर्ती गर्नका लागि लोक सेवा आयोगले विज्ञापन आह्वान गरिसकेको मन्त्रालयका सह–सचिव एवम प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

बढुवाबाट, आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धाबाट चालु आर्थिक वर्ष भित्र पदपूर्ती भइसक्ने उनले बताए ।

५५ जना विशिष्ट श्रेणी अर्थात सचिवको एक पद रिक्त भइसकेको छ भने ६ जनाको चालु आर्थिक वर्षमा रिक्त हुदैँछ । पुष २१ गते लोक सेवा आयोगबाट सचिव आनन्दराज ढकालले अवकाश पाए पछि एक पद रिक्त भएको हो ।

रिक्त पदपूर्तीका लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले ३ जना सह–सचिवको नाम सिफारिस गरिसकिएको आयोगका आयोगका अध्यक्ष मैनालीले नेपाल प्रेसलाई जानकारी दिए । तर कसको नाम सिफारिस भएको छ भन्ने बारेमा आफुले भन्न नमिल्ने मैनालीले बताए ।

यस्तै माघ ८ गते उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव चन्द्र घिमिरे, चैत्र १ गते गण्डकी प्रदेशका प्रमुख सचिव बिष्णु नेपाल, चैत्र गते बाग्मती प्रदेशका सचिव डाक्टर मानबहादुर विके, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तिर्थराज ढकाल चैत्र २७ गते, असार १ गते गोपिनाथ मैनाली, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे असार १७ गते अवकाश लिँदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर