माधवलाई शंकर पोखरेलको प्रश्‍न – प्रचण्डसँगको पुरानो सहकार्यले पार्टीविरुद्ध घात भएन र ? – Nepal Press

माधवलाई शंकर पोखरेलको प्रश्‍न – प्रचण्डसँगको पुरानो सहकार्यले पार्टीविरुद्ध घात भएन र ?

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली पक्षका नेता शंकर पोखरेलले माधव नेपाललाई प्रचण्डसँग शुरूदेखि नै सहकार्य गरेको हो भने त्यो पार्टीविरुद्धको घात भएन र भनी प्रश्‍न गरेका छन् । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डसँगको सहकार्यको तारिफ गर्दै हिजो दाङमा बोली र व्यवहारमा प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको अनुभव सुनाएका थिए ।

सामाजिक सञ्‍जालमार्फत् नेता पोखरेलले लेखेका छन्, ‘माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतमलगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर, आज तपाईं कमरेड प्रचण्डसँग शुरूदेखिनै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ ।’

‘शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?’, पोखरेलले भनेका छन् ।

नेता पोखरेलले विधि र पद्धतीमा जोड दिनेले अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरीत नवोलेको भए हुन्थ्यो भनेर नेपाललाई सुझाएका छन् ।

‘शान्ति प्रकृयामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाँधिएका हौँ । त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?’, पोखरेलको प्रश्‍न छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर