गण्डकीमा पिएस र किरण हावी, जिल्ला अध्यक्ष यसरी भए विभाजित – Nepal Press
नेकपा विभाजन

गण्डकीमा पिएस र किरण हावी, जिल्ला अध्यक्ष यसरी भए विभाजित

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनसँगै जिल्ला र स्थानीय तहसम्म नेता कार्यकर्ताको कित्ताकाट भइसकेको छ । गण्डकी प्रदेशमा दुवै पक्षले आफ्नो शक्ति मजबुत बनाउने प्रयास गरिरहेका बेला यहाँको सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शक्ति पार्टीमा पनि बलियो देखिँदैछ ।

ओली र प्रचण्ड-माधव दुवै समूह आफ्नो पक्षमा बहुमत देखाउन दौडधुपमा लागेका छन् । अन्य प्रदेशमा बहुमत जुटाएर दाहाल-नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइरहेका बेला गण्डकी प्रदेश सरकारमा भने ओली पक्ष बलियो देखिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली समूहका हुन् । उनीसहित ५ जना मन्त्री ओली समूहसँग छन् । प्रदेशका अर्थमन्त्री किरण गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुन ओली समूहको पक्षमा उभिएका छन् ।

ओली समूहमा लागेका अर्थमन्त्री किरण गुरुङ पहिले वामदेव पक्षमा थिए । गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार थिए । तर, ओली पक्षीय पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्रीमा समर्थन गरेर आफू मन्त्री बने । त्यसयता उनी ओली समूहमै छन् ।

गण्डकी प्रदेश सरकारमा प्रचण्ड-माधव नेपाल समूहसँग २ जनामात्रै मन्त्री छन् । पूर्वमाओवादीबाट विजयी भएका कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापामगरमात्रै प्रचण्ड-नेपाल पक्षमा उभिएका हुन् ।

अन्य प्रदेशमा प्रचण्ड-माधव पक्षका मन्त्रीहरूले राजीनामा दिएर ओली पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे पनि गण्डकी र लुम्बिनीमा भने सरकार छाडेका छैनन् ।

प्रदेशसभामा २६/१३, दिपक मनाङे तटस्थ

गण्डकी प्रदेश सभामा ओली पक्षको बहुमत देखिएको छ । स्पष्ट दुई तिहाई सिट पाएको नेकपासँग कुल ६० मध्ये ४० जना सांसद थिए । पार्टी विभाजनतर्फ मोडिएपछि नेकपा सांसदहरुले पनि आफ्ना ‘कित्ता स्पष्ट’ पारेका छन् ।

गण्डकी प्रदेश सभामा बहुमत देखिएको ओली पक्षसँग २६ जना सांसद छन् । दाहाल-नेपाल पक्षसँग जम्मा १३ जना सांसद छन् । १३ मध्ये इन्द्रलाल सापकोटा बाहेक १२ जना तत्कालीन माओवादीबाट निर्वाचित हुन् ।

मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका दिपक मनाङे बीचमा प्रवेश गरेपछि नेकपाले स्पष्ट दुई तिहाइ मत पुर्‍याएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै पार्टी प्रवेश गराएका मनाङे हाल पार्टी विभाजनको विपक्षमा रहेको भन्दै वामदेब समूहतिर लागेका छन् । प्रदेश सभामा नेकपाबाट वामदेव पक्षमा उभिएका उनी एक्ला सांसद हुन् ।

‘योबेला पार्टी विभाजन ठीक होइन । सकेसम्म मिलेर जाने हो । वामदेवजीले दुवै समूहलाई मिलाउने अभियान चलाउनु भएको रहेछ । मिलाउने कुरा ठिकै हो नि !’ पत्रकारहरुसँग कुरा गर्दै मनाङेले प्रष्‍ट्याएका छन् ।

जिल्ला अध्यक्ष र सचिव को कसको पक्षमा ?

पार्टी विभाजनतर्फ गएपछि नेकपा जिल्ला अध्यक्ष र सचिव को कसको पक्षमा भन्ने विषयमा पनि चासो शुरू भएको छ । गण्डकीका प्राय जिल्लामा ओली पक्षकै वर्चश्व देखिएको छ ।

जिल्लागत रुपमा हेर्दा जिल्ला अध्यक्षमा ओली पक्षको बहुमत देखिन्छ भने सचिवमा भने दाहाल-नेपाल समूहको वर्चश्व छ ।

जिल्ला अध्यक्षमा ओली पक्षसँग ७ जना छन् भने दाहाल-नेपाल पक्षमा ४ जना छन् । जिल्ला सचिवमा ओली समूहसँग ३ जना र दाहाल-नेपाल समूहसँग ८ जना छन् ।

११ वटा जिल्लामध्ये स्याङ्जामा जिल्ला अध्यक्ष र सचिवमा ओली पक्षका छन् भने बाग्लुङ भने दाहाल-नेपाल पक्षमा परेको छ । स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे तत्कालीन माओवादीका हुन् । उनी विभाजनपछि ओलीतर्फ लागेका छन् ।

गण्डकीमा नेकपाका तीन शीर्ष गुरुङ नेतामध्ये पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ ओली पक्षमा रहेपछि देव गुरुङको प्रभाव कमजोर बनेको छ । उनको जिल्लाका माधव नेपालनिकट प्रभावशाली नेता जमिन्द्रमान घलेसमेत पछिल्लो समयमा पृथ्वीसुब्बाको नेतृत्वमा लागेका छन् ।

प्रचण्ड-माधव पक्षले प्रदेश इन्चार्जबाट पिएस गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई नियुक्त गरिसकेको छ भने प्रदेश सचिवबाट गोविन्द नेपालीलाई हटाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर