कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल – Nepal Press
परराष्ट्रमन्त्री स्वदेश फिर्ता

कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप वितरणमा छिमेकी मुलुक नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको र खोप चाँडै आपूर्ति हुने भारतले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीको तीनदिने औपचारिक भ्रमण सकेर शनिबार काठमाडौं आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए ।

उनले नेपाल–भारतको संयुक्त आयोगको बैठकको मुख्य एजेन्डा नै कोभिड–१९ खोप वितरण तथा आपूर्ति रहेको भन्दै भारतले नेपाललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । भ्रमणका क्रममा ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए । सो अवसरमा दुई देशबीच व्यापार, संचार, पारवहन लगायत १७ भन्दा बढी विषयमा छलफल भएको छ ।

कोभिडको कारण रोकिएका नेपाल–भारतबीचका हवाइ तथा स्थलमार्गलाई क्रमशः खोल्ने सहमति भएको छ । हुलाकी सडकअन्तर्गतका १४ मध्ये निर्माण सम्पन्न भएका ११ सडकको हस्तान्तरण प्रक्रिया सुरु गरिने र बाँकी तीन सडकको निर्माण चाँडै सम्पन्न गर्ने निधो भएको छ । रक्सौल–काठमाडौं रेल सेवाको अध्ययन अन्तिम चरणमा पुगेको र निर्माण चाँडै थाल्ने सहमति पनि भएको छ ।

भैरहवामा एकीकृत चेक पोस्टको काम चाँडै थाल्ने पनि कुरा भएको छ । महाकालीमा निर्माणाधीन चार लेनको सडकलाई भारतको राष्ट्रिय सडक संजालसँग जोड्ने विषयमा भारत सहमत भएको ज्ञवालीले जनाए । यो सडक बने भारतको उत्तराखण्ड र नेपालको सुदुरपश्चिमलाई सुविधा पुग्ने उनले जनाए । भारतले भूकम्पपछिको पुननिर्माणका लागि घोषणा गरेको अनुदान र ऋणलाई उपयोग गर्ने र परियोजनालाई अन्तिम रुप दिने छलफल पनि भएको छ ।

नेपाल र भारतबीचका पारवहन सम्बन्धी सन्धी एवं सम्झौता पुनरावलोकनको प्रक्रिया चाँडै सम्पन्न गर्ने र वाणिज्य सन्धीको पुनरावलोकन कार्यान्वयन गर्न आवश्यक नियमावली बनाउने सहमति जुटेको छ । व्यापार प्रवद्र्धन गर्ने र यस क्षेत्रका अवरोध हटाउने, नेपालको निर्यात बढाउनको लागि ठोस उपाय अवलम्वन गर्न नेपालले भारतसँग आग्रह गरेको छ ।

जलमार्गको निर्माण तथा विस्तार, सीमापार आर्थिक क्षेत्रको निर्माण सम्बन्धी विषयमा समेत छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जनाए । सन् २०१६ मा हस्ताक्षर भएको ऊर्जा व्यापार सम्झौतामा विद्यमान सुधारोन्मुख व्यापार अनुसार क्रसबोर्डर पावर सेयरिङ चाँडै जारी गर्ने सहमति पनि भएको छ । ढल्केवर–मुजफ्पुर उच्च भोल्टको प्रसारण लाइन निर्माण गर्ने, भैरहवा–गोरखपुर उच्च प्रसारण लाइन र सीमापार लाइनको निर्माणलाई उच्च प्राथमिकतामा राख्ने सहमति पनि भएको छ ।

पञ्चेश्वर बहुेउद्देश्यीय परियोजनाको योजना तयार पार्ने सहमति पनि भएको छ । महाकाली सन्धीको प्रावधान अनुरुप नेपालले पाउनुपर्ने पानीका लागि जनकपुर बाँधमा जेनेरेटर र लिंक च्यानलको काम अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिने सहमति पनि भएको छ । महाकाली नदीका विभिन्न तीन ठाउँमा आवतजावत गर्न सकिने पुल निर्माणको पनि कुरा भएको छ ।

भारतीय भूमिमा निर्मित सडकबाट नेपालको सीमा क्षेत्रमा हुने गाउँ तथा सहर डुबानको समस्या समाधानको लागि विगतमा सम्झौता कार्यान्वयन गर्ने बारे पनि छलफल भएको छ । कृषि क्षेत्रमा थप सहकार्य गर्ने र सरकारले सरकारसँग (जीटुजी) आधारमा मल खरिद गर्ने सम्झौता पनि भएको छ ।

मन्त्री ज्ञवालीले द्धिपक्षीय सम्बन्ध सुद्धढ गर्नको लागि भ्रमण फलदायी भएको बताउँदै नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक दुबै पक्षलाई अनुकूल हुने समयमा नेपालमा बस्ने सहमति समेत भएको बताए । साथै, शनिबार विहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा दुई देशबीचको समसामयिक विषयमा छलफल भएको समेत मन्त्री ज्ञवालीले बताए ।


प्रतिक्रिया

One thought on “कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल

  1. सिमा विवादको बारेमा ,,,, लिपुलेक ; लिम्पियाधुरा , कालापानीको विषय ?//

Leave a Reply to अधिकारी जय Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर