धुर्मुस-सुन्तलीले व्यक्त गर्न नसकेको धोका (भिडियोसहित) – Nepal Press
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

धुर्मुस-सुन्तलीले व्यक्त गर्न नसकेको धोका (भिडियोसहित)

झापाको पैतृक सम्पत्ति बेचेर भएपनि रंगशाला बनाउने संकल्प

चितवन । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सक्रिय धुर्मुस-सुन्तली अचेल चुपचाप छन् । यो मौनताका पछाडि आश्वासन,धोखा र आशावादीताका अनेक आयाम होलान् । तर निस्वार्थ एउटा महाअभियानमा लागेको धुर्मुसले मुख नखोले पनि भावभंगीबाट बुझ्न सकिन्छ–सोचे झैं रैनछ ..।

आजसम्म धुर्मुसले मुख खोलेका छैनन् र खोल्न पनि चाहादैनन् तर यो महाअभियानमा फाउण्डेसनलाई ‘गम्भीर धोका’ चाहिँ भएकै छ । रंगशाला निर्माण महाअभियानमा सहयोगको कबोल गरेकाहरुले लामो समयसम्म रकम उपलब्ध नगराउँदा रंगशाला निर्माणको काममा प्रत्यक्ष असर परेको छ ।

गत वर्षको माघमा रंगशाला निर्माणका लागि आयोजना गरिएको धनधान्याचल महायज्ञमा सरकारी र गैरसरकारी क्षेत्रका दाताहरुले ७० करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका थिए । नेपालकै शानका रुपमा रहने सो रंगशाला निर्माणको कामले तीव्रता पाइरहँदा सहयोग घोषणा गर्ने अधिकांश सम्पर्कविहीन छन् । ७० करोडमध्ये हालसम्म ९ करोड रुपैयाँ मात्रै फाउण्डेसनको हातमा परेको छ ।

महायज्ञका बेला सहयोग घोषणा गरेर सम्मान थापेका दाताहरुले बेलैमा सहयोग उपलब्ध नगराएका कारण रंगशाला निर्माण अभियानलाई ‘गम्भीर धोका’ भईरहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले यद्यपी अहिलेसम्म यो कुरा बोलेका छैनन् ।

बजारबाट उधारोमा सामान ल्याएर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने अवस्था छ । हाल फाउण्डेशनले १० करोड जतिको निर्माण सामाग्री उधारोमा ल्याएर रंगशालाको प्याराफिट निर्माण गरिरहेको छ । रंगशाला परिसरमा बनेको नमूना क्रिकेट मैदानमा राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेको छ । तर अन्तर्राष्ट्रिय रंगशाला निर्माण ‘आर्थिक अभाव’ व्यहोर्नुपर्ने अवस्थामा छ ।

फाउण्डेसनका अनुसार हालसम्म अन्तर्राष्ट्रिय मैदानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २२ लाख लिटर पानी अट्ने ड्रेन बनाइएको छ । ३० हजार दर्शक क्षमताको रंगशालाका स्ट्याण्ड ए र बीका पिल्लहरु तयार भइसकेका छन् । अभावले असर गरेन भने डेढ महिनामा प्यारापिट तयार हुनेछ । त्यस्तै नियमित गतिमा काम जारी रहेको अवस्थामा अबको १५ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पूर्णरुपमा तयार हुनेछ । यद्यपि त्यसका लागि स्रोतको अभाव हुनुहुँदैन । रंगशाला निर्माणका लागि सरकारी क्षेत्रबाट ५१ करोडभन्दा बढी सहयोग रकम घोषणा भएको थियो । त्यसमध्ये २० प्रतिशत रकम पनि फाउण्डेसनले पाएको छैन ।

रंगशालामा हाल दैनिक ३ सय कामदार काम गरिरहेका छन् । खर्च निरन्तर भएपनि सहयोग घोषणा भएको रकम नउठ्दा रंगशाला निर्माणमा असहजता बढेको छ । फाउण्डेसनका अध्यक्ष कट्टेल दाताहरुले छिट्टै सहयोग रकम उपलब्ध गराउने आशामा छन् ।

‘मलाई विश्वास छ महायज्ञमा गरिएको प्रतिबद्धता सबैले पूरा गर्नुहुनेछ । जेजति कारणले नभ्याउनुभएको भएपनि अब रंगशाला निर्माण अन्तिम चरणमा छ । सबैले बचन पूरा गर्‍यौ भने रंगशाला बेलैमा तयार हुनेछ’, कट्टेलले नेपाल प्रेससंग भने ।

रंगशाला निर्माणलाई अभावका बीच पनि निरन्तरता दिइएको भन्दै उनले झापामा आफ्नो नाममा रहेको जग्गा बेचेर पनि रंगशाला निर्माण सम्पन्न गर्ने बताए । ‘यो सरकारलाई नागरिकस्तरबाट गरिएको सहयोग छ । रंगशाला निर्माण घोषणा भएदेखि आजसम्म इमानदार प्रयास गरेका छौं । अब त झापामा भएको पैतृक सम्पत्ति बेचेर पनि रंगशाला ठड्याउँछु भन्ने लागेको छ’, कट्टेलले भने ।

रंगशाला निर्माणको कामबारे छलफल गरिरहँदा भावुक हुँदै कट्टेलले झापाको जग्गा बेच्ने कुरा गरेका थिए । तर कबोल भएअनुसारको रकम तत्काल उठ्ने हो भने त्यस्तो कष्ट गर्नुपर्ने छैन ।

रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख र गैडाकोट नगरपालिकाले १ करोड नगद सहयोग गर्ने घोषणा गरेका थिए ।

२८ हजार जना दाताले सहयोग गरेको महायज्ञमा निजी क्षेत्र, संघ संस्था र व्यक्तिगत तर्फबाट १७ करोड ४६ लाख रुपैयाँ सहयोगको घोषणा गरिएको थियो । महायज्ञका दौराना दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

‘सहयोग घोषणा भएपछि सम्मान र प्रचार गरियो । अहिले कबोल भएको रकम प्राप्त भएको छैन’, महायज्ञ आयोजक समितिका एक पदाधिकारीले भने । सहयोग रकम उपलब्ध नगराउने संस्था र व्यक्तिको नाम उपलब्ध गराउन भने उनले अस्वीकार गरे । ‘कबोल गरिएको रकम आउन ढिलो भएको हो तर अहिले हामी नाम भन्दैनौ । ६९ करोड कबोल भएकोमा ९ करोड मात्रै उठेको छ । अधिकांशले दिनै बाँकी छ’, उनले भने ।

जनस्तरको सहयोगबाट रंगशाला निर्माणको घोषणा भएपछि देशविदेशमा रहेका नेपालीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेका थिए । रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेका कारण आर्थिक अभाव नहोस् भन्ने फाउण्डेसनको चाहना हो ।

रंगशालालाई प्रदेश र स्थानीय सरकारले सहयोग गरेपनि संघीय सरकारबाट उल्लेख्य सहयोग भएको छैन । संघीय सरकारमा नेकपा नेता विष्णु पौडेल अर्थमन्त्री भएसंगै रुपन्देहीकै सैनामैनामा गौतम बुद्धकै नामबाट अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई सहयोगको आश्वासन दिइएको छ ।

चितवनमा रंगशाला निर्माणको काममा अहोरात्र खटिइरहेका धुर्मुस सरकारले नगरेपनि जनस्तरबाट रंगशाला बनिछाड्ने बताउँछन् । त्यसका लागि ७७ वटै जिल्लाका नागरिकसंग उनले अनुरोध गरेका छौं ।

‘अन्तर्राष्ट्रिय रंगशालामा ७७ वटै जिल्लाको कक्ष हुनेछ जसले सबै जिल्लाको मान र पहिचान पनि कायम गर्नेछ । त्यसैले सबै जिल्लाबाट सहयोग अभियान चल्यो भने अबको केही समयमै रंगशाला पूर्णरुपमा तयार हुन्छ’, उनले भने ।


प्रतिक्रिया

One thought on “धुर्मुस-सुन्तलीले व्यक्त गर्न नसकेको धोका (भिडियोसहित)

Leave a Reply to JIwan Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर