भारतीय रक्षामन्त्री सिंह र नेपाली परराष्ट्रमन्त्री ज्ञवालीबीच दिल्लीमा भेटवार्ता – Nepal Press
ज्ञवाली आज स्वदेश फर्कँदै

भारतीय रक्षामन्त्री सिंह र नेपाली परराष्ट्रमन्त्री ज्ञवालीबीच दिल्लीमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेटेका हुन् ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाली राजदूत निलाम्बर आचार्य पनि सहभागि थिए । भेटपछि ट्वीट गर्दै सिंहले ज्ञवालीसिंह फलदायी छलफल भएको उल्लेख गरेका छन् ।

भारत र नेपालको सम्बन्ध सरकारबाट नभएर नागरिक–नागरिकबीच निर्देशित रहेको उल्लेख गर्दै उनले दुई देशबीच अनन्त सम्भावना रहेको समेत उल्लेख गरेका छन् । गत बैशाख २६ गते सिंहले नेपालको भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बत जाने सडकमार्ग उद्घाटन गरेका थिए ।

दिल्लीस्थित नेपाली दुतावासका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास भैरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ । शनिबार विहानै ज्ञवालीले नेपाली दुतावासमा भारतीय पत्रकारसँग छलफल गरेका थिए । जहाँ उनले ऐतिहासिक तथ्य र सुगौली सन्धीका आधारमा नेपालले नयाँ नक्सा प्रकाशित गरेको बताएका थिए ।

शुक्रबार परराष्ट्रमन्त्रीस्तरिय नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको थियो । बैठकमा नेपाली परराष्ट्रमन्त्री ज्ञवाली र भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर