सरकारले सार्वजनिक गरेको नागरिक एपबाट के-के सेवा लिन सकिन्छ ? – Nepal Press

सरकारले सार्वजनिक गरेको नागरिक एपबाट के-के सेवा लिन सकिन्छ ?

सरकारले सरकारी सेवा प्रबाहका लागि शुक्रबार सार्वजनिक गरको नागरिक मोवाइल मोवाइल एपबाट के-के सेवा लिन सकिन्छ भनेर नागरिक स्तरमा बहस सुरु भएको छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तरगत सरकारले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नागरिक एप सार्वजनिक गरे पछि कसरी चलाउने के–के सेवा कसरी लिने भन्ने बारेमा नागरिकमा जिज्ञासा थपिएको हो ।

शुक्रबारदेखि एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप्स स्टोरबाट नागरिक एप डाउनलोड गर्नुपर्नेछ । आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकमको र एनसेलको सिमकार्डबाट मात्र अहिले यो एप प्रयोग गरेर सेवा लिन सकिनेछ । यो एपको प्रयोगबाट समयको बचत, झन्झट हट्ने, खर्च जोगिने, पारदर्शिता बढ्ने सरकारले अपेक्षा गरेको छ ।

नागरिक एप्समा नागरिकता नम्बर, मतदाता परिचय पत्र नम्बर, स्थायी लेखा नम्बर राहदानी नम्बर, कर्मचारी सञ्चय कोष नम्बर, सामाजिक सुरक्षा कोष नम्बर राखेपछि त्यसको पुर्ण विवरण एपले देखाउनेछ । नागरिक एपले आफैँ आवश्यक विवरण लिने र पुष्टी गर्ने काम गर्छ । नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र, जस्ता कागजात साथमा बोकेर हिड्नुपर्ने झन्झट अन्त्य भएको सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । यो एप प्रयोग गर्न एकदमै सजिलो रहेको उनले बताए ।

महानिर्देशक श्रेष्ठका अनुसार एपले मोबाइल नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा पनि स्वचालित रुपमा पत्ता लगाउन सक्छ । नागरिकता नम्बरबाट एपले सम्बन्धित निकायको प्रणालीमा पहुँच बनाउँछ । यो एप प्रयोगकर्ताले अब कुनै पनि कार्यालयमा सेवा लिन जादाँ कुनै पनि प्रमाणपत्रको प्रतिलिपि बुझाइरहनुपर्दैन । स्थानीय तहदेखि केन्द्रबाट पाउने सबै सूचना यसै नागरिक एपबाट पाउन सकिन्छ । सरकारी निकायबाट नागरिकले पाउने ६४ वटा सेवा मध्ये ४० वटा सेवा एउटै नागरिक एपबाट लिन सकिने महानिर्देशक श्रेष्ठको भनाइ छ ।

एपमा कुनै विवरण भरिरहनु पनि पर्दैन । एक क्लिकमै सम्बन्धित सरकारी सेवाका लागि आफै आवेदन भरिन्छ । यस एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिनेछन् । यसले सरकार सञ्चालनमा सहजता मात्र नभइ, सुशासन तथा भ्रष्ट्राचार नियन्त्रणमा पनि महत्वपुर्ण भूमिका निर्वाह गर्ने सरकारले अपेक्षा लिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समेटिएको नागरिक एपको सुरुवात गर्न ३ वर्ष लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । यसको तयारी पुरा भए पछि आजबाट परिक्षण सुरु गरिएको उनको भनाइ छ ।

सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना र कार्यक्रमका रुपमा लिएको उनले बताए । नागरिक एपलाई अझै व्यवस्थित बनाएर लिने पनि मन्त्री गुरुङले प्रतिवद्वता जनाए । यसको प्रयोग र सुरक्षालाई ध्यान दिएर छिटो छरितो बनाउका लागि लागिपर्ने उनको भनाइ छ ।

मोवाइलबाटै हात हातमा सेवा दिनका लागि र आफ्ना सबै सामग्री मोवाइलमा नै सुरक्षित राख्नका लागि नागरिक एप प्रभावकारी हुने र सुरक्षित हुने पनि मन्त्री गुरुङको भनाइ छ । नागरिकलाई सरकारी सेवा २४ घण्टा र विदाको दिन पनि दिने र सेवालाई सरल बनाउने सरकारको योजना पुरा भएको मन्त्री गुरुङको दावी छ ।


प्रतिक्रिया

3 thoughts on “सरकारले सार्वजनिक गरेको नागरिक एपबाट के-के सेवा लिन सकिन्छ ?

  1. धन्यवाद नेपाल सरकार लाई ।समयको माग अनुसार अगाडी बडेको म।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर