लकडाउनमै थपिए अर्बौं लगानीका नयाँ उद्योग – Nepal Press
सुनसरी-मोरङ औद्योगिक करिडोर

लकडाउनमै थपिए अर्बौं लगानीका नयाँ उद्योग

थलिएका उद्योगहरू पनि पूर्णक्षमतामा फर्कँदै

विराटनगर । विश्‍वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमले हर क्षेत्र थलिएको छ । तर, महामारी र लकडाउनको असहज परिस्थितिकै बीच सुनसरी-मोरङ औद्योगिक करिडोरमा अर्बौंको लागानीका नयाँ उद्योगहरू थपिएका छन् ।

नयाँ स्थापना भएका उद्योगहरू प्रायः कोरोनालक्षित स्वास्थ्य सामग्रीदेखि खाद्यान्‍न उत्पादनसम्म रहेका छन् । उद्योग संगठन मोरङका अनुसार कोरोना महामारी शुरू भएपछि एक दर्जन स्यानिटाइजर र मास्क उद्योग खुलेका छन् । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु र अध्यक्ष प्रकाश मुन्दडाको संयुक्त लगानीमा स्यानिटाइजर उद्योग खुलेको छ ।

साबुन र सरफ मात्रै उत्पादन गर्दै आएको हिमगिरी हाइजिन प्रालिले नयाँ उद्योग स्थापना गरेर आउरा ब्रान्डको स्यानिटाइजर बजारमा ल्याइरहेको छ । त्यस्तै उद्योगी महेश सोनीले आफ्नो साबुन तथा सरफ उद्योगमा स्यानिटाइजर उत्पादन गर्ने युनिट औषधि व्यवस्था विभागमा दर्ता गराएर उत्पादन थालेका छन् ।

‘स्यानिटाइजरको माग बजारमा अत्यधिक छ’ उद्योगी सोनीले भने,‘बन्दाबन्दीको बीचमा नै हामीले स्यानिटाइजर उद्योगमा लगानी गरेका छौँ ।’ समग्रमा अहिले यसको व्यापार राम्रो छ ।’

पछिल्लो समय मुलुकभरि बन्दाबन्दी हटाइएपछि ती उद्योग सञ्चालनमा आएका हुन् ।

विराटनगरका युवा व्यवसायीहरूको समूहले अमेरिकी कम्पनी आरसी कोलाका ६ प्रकारका पेय पदार्थलाई नेपाली बजारमा ल्याएका छन् । उनीहरूले यस वर्षको शुरूमा नै ती उत्पादन बजारमा ल्याउने तयारी गरेका थिए । तर, चैतबाटै बन्दाबन्दी भएपछि उत्पादन रोकिएको थियो ।

करीब ८० करोडको लागतमा मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा भेन्चुरा बोटलर्स उद्योग स्थापना भएको ७ महीनापछि यसले ६ प्रकारका पेय पदार्थको व्यावसायिक उत्पादन शुरू गरेको हो ।

विराटनगरका उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले फ्रेन्चाइज लिएर आरसी कोला ब्रान्डका पेय पदार्थ नेपाली बजारमा ल्याएको हो । आचार्य भन्छन, ‘परीक्षण उत्पादन गरेको झन्डै ६ महीनापछि बजारमा उत्पादन लिएर आएका छौं, सबैतिरबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।’

समूहका सञ्चालक आचार्यका अनुसार भेन्चुरामा ८० करोडको लगानी छ । भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण शुरू गरिसकेको छ । २० जना स्थायी कर्मचारी रहे पनि १ सय ५० ले रोजगारी पाएको उद्योगको भनाइ छ ।

नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्ने गरी ‘प्लास्टिक बेस’ वस्तुको उत्पादन र मार्केटिङ शुरू गर्दागर्दै बन्दाबन्दीमा ठप्प भएको उद्योग पनि सञ्चालनमा आएको छ ।

लकडाउनको ८ महीनाभन्दा बढी समय उद्योगहरू पूर्णक्षमतामा सञ्‍चालन नहुँदा १५ हजार बेरोजगार भएका उद्योग संगठन मोरङले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको खनारमा रहेको वन्डर म्याटेरियलले ‘अल्टवुड’ ब्रान्डमा पीभीसी र डब्ल्यूपीसीको उत्पादन गरिरहेको उद्योग बन्दाबन्दीका कारण उत्पादन नै ठप्प भएको थियो । बन्दाबन्दी हटेपछि उद्योग सञ्चालनमा आएको प्रबन्धक महेश वाहेतीले बताए । उद्योग पुनः सञ्चालनमा आए पनि उत्पादनको बजारमा खपत भने घटेको वाहेतीले बताए । उद्योग करीब २५ करोडको लागतमा स्थापना गरिएको हो ।

इटहरी उपमहानगरपालिकाको खनारमा पुराना तथा काम नलाग्ने कागज प्रशोधन गरेर नयाँ कागज बनाउने उद्योगसमेत यस अवधिमा सञ्चालनमा आएको छ । दैनिक सवा सय मेट्रिक टन पुरानो कागज प्रशोधन गरेर सो उद्योगले १ सय टन नयाँ कागज उत्पादन गर्दै आएको छ । अरिहन्त कोरुगेशनले झुत्रा कागज प्रशोधन गर्न थालेको छ । उद्योगका सञ्चालक पारस लुनियाका अनुसार गतवर्षदेखि नै लगानी गरिएको उद्योग बन्दाबन्दीकै बीचमा सञ्चालनमा ल्याइएको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बन्दाबन्दीको समयमा करिडोर क्षेत्रमा नयाँ उद्योग स्थापना हुनुले औद्योगिक वातावरण निर्माणमा सहयोग पुगेको बताउँछन् । कोरोना महामारीका बीचमा युवाहरूको समूह उद्योगमा लगानी गर्न प्रोत्हासहित भएको उनको भनाइ छ।

घिमिरेका अनुसार औद्योगिक क्षेत्रमा बन्दाबन्दी हटेपछि क्रमशः उद्योगहरू सञ्चालनमा आउन थालेको र धेरै नयाँ उद्योग र केही पुरानै उद्योगको पनि क्षमता विस्तार भई उत्पादन शुरू भएको छ ।

सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग पूर्णक्षमतामा फर्कँदै

कोरोना महामारीका कारण उत्पादन कटौती गरेका उद्योगहरू विस्तारै पूर्णक्षमतामा फर्किन थालेका छन् ।

कोरोना संक्रमणको प्रभाव कम भएसँगै उत्पादन कटौती गरी १ सिफ्टमा सञ्चालन हुँदै आएका उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन उद्योगीहरू बताउँछन् । उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेका अनुसार करिडोरका बन्दाबन्दीका कारण ठूला उद्योगले ३० प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए । ती उद्योगले २ सिफ्टबाट २ सिफ्ट कतिपयले एक सिफ्टमात्र उद्योग चलाउदै आएका थिए ।

साना तथा मझौला उद्योगको उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदारहरू पूर्णबेरोजगार बनेका थिए । तर उद्योगहरू बिस्तारै पूर्णक्षमतामा फर्केपछि कामदारहरू पनि फर्किन थालेका छन् ।

सुनसरी-मोरङ औद्योगिक करिडोरभित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मिल्टफाइवर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले पछिल्ला दिनमा मानिसको जीवनशैली बिस्तारै सामान्य बन्‍न थालेसँगै १ सिफ्टमा चल्दै आएका उद्योगहरू अहिले ३ सिफ्टमै सञ्‍चालन भइरहेका छन् ।

१ सिफ्टमा मात्र सीमित हुँदा उद्योगमा कार्यरत ३० प्रतिशत मजदुर कामविहीन थिए । कोरोनाको प्रभावका कारण उद्योगले १५ दिन काम र १५ दिन आराम दिएर उद्योगले कामदारलाई काममा लगाइरहेको थियो ।

अरिहन्त मल्टिफाइवर्समा ४ हजार ५ सय मजदुर र रघुपति जुटमिलमा २ हजार ५ सय मजदुर कार्यरत छन् । तर कोभिड १९ को महामारीको कारण ३० प्रतिशतले अर्थात् २ हजार १ सयले रोजगारी गुमाएका थिए ।

अहिले उद्योग पूर्णक्षमतमा आएसँगै कामदारहरू रोजगारीमा फर्किएका छन् । तर, उद्योगमा कार्यरत भारतीय मजदुर भने आएका छैनन् । करिडोरका उद्योगमा १० हजार भारतीय मजदुर कार्यरत् थिए ।

इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्समा चार हजार मजदुर कार्यरत छन् । कोरोना महामारीका कारण एक सिफ्टमा सीमित भएको उद्योगलेपनि २ सातादेखि पूर्णक्षमतामा सञ्चालन हुदै आएको छ ।

रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार कोरोनाको कारण स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो गर्दै आएकोमा अहिले भने उद्योग तिन सिफ्ट चल्न थालेको छ । रिलायन्स ११ महिनापछि पूर्णक्षमतमा फर्किएको प्रशासन प्रमुख पोखरेले बताए ।

कोरोनाका कारण यसअघि उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेको थियो । उनका करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दुध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा रहेका छन् ।

सञ्चालित उद्योगहरूमध्ये धेरै पूर्णक्षमतामा आएका छन् भने कतिपय उद्योगले अहिले पनि ७० देखि ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

कोरोनाका कारण सुनसरी-मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ सय मजदुरको रोजगारी गुमेको थियो । ८ महीनाभन्दा बढी समय उद्योग पूर्णक्षमतामा सञ्‍चालन नहुँदा १५ हजार बेरोजगार भएका उद्योग संगठन मोरङले जनाएको छ ।

यो अवधिमा तीमध्ये ३० प्रतिशत अर्थात १० हजार बेरोजगार भएका थिए । १४ हजारले आंशिक रोजगारी पाएका थिए । करिडोरमा ५० हजार मजदुर कार्यरत् छन् । ती मध्ये २१ हजार मजदुरले भने पूर्णकालीन रोजगारी पाइरहेका छन् । करिडोरका साना-ठूला गरी ५०० उद्योग छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ