रेखा थापा फेरि प्रचण्डतिर, भुवन केसी तटस्थ ! – Nepal Press
नेकपा विभाजन

रेखा थापा फेरि प्रचण्डतिर, भुवन केसी तटस्थ !

काठमाडौं । नेकपा विभाजनको प्रभाव कलाकारमा पनि देखिन थालेको छ । सेलेव्रिटी नेताले आफ्नो कित्ता क्लियर गर्न थालेका छन् । केही कलाकार खुलेरै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षमा लागेका छन् भने, कोही केपी शर्मा ओलीको पक्षमा छन् । केही भने तटस्थ देखिएका छन् । कोही चाहिँ परिस्थतीको मूल्यांकन गरेर पर्ख र हेरको आधारमा अघि बढ्ने मनस्थितीमा छन् ।

विगतमा एमालेबाट चुनाव लड्ने तयारी थालेका अभिनेता एवं निर्माता भुवन केसी नेकपा पार्टी विभाजनपछि तटस्थ छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे उनी मौन देखिएका हुन् । तत्काल कुनै पनि पक्षमा खुलिहाल्ने मनस्थितीमा छैनन् उनी । नेपाल प्रेससँग कुरा गदै भुवनले तत्काल आफू कतै नलाग्ने संकेत गरे ।

विगतमा प्रचण्ड निकट मानिएकी अभिनेत्री रेखा थापा अहिले राप्रपा नेतृ हुन् । रेखालाई आफ्नो पार्टी प्रवेश गराउन नेकपाको दाहाल–नेपाल खेमाले गृहकार्य गरिरहेको बुझिएको छ ।

कुनै एउटा राम्रो पद दिएर रेखालाई आफूतिर ल्याउन खुमलटारले पहल गरेको निकट स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । रेखालाई युवा संघको केन्द्रिय सदस्य दिलाउने अफर आएको बुझिएको छ । तर, रेखाले यसको स्वतन्त्र पुष्टि गरेकी छैनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विगतमा ओली निकट हुन् । तर, उनी नेकपा विभाजनपछि तटस्थ देखिएका छन् । उनी खुलेर कुनै कित्तामा प्रस्तुत भएका छैनन् । निर्देशक दिनेश डीसी ओली निकट मानिएपनि उनी अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् । संसद विघटनको प्रकरणमा उनी मौन देखिएका थिए ।

नेकपा निकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई खुलेरै ओलीको पक्षमा लागेका छन् । उनी विगतमा पनि ओली निकट थिए ।

संगीतकार चेतन सापकोटा, निर्देशक केपी पाठक, अभिनेत्री मौसमी मल्ल, राजेन्द्र खड्गी, सुवास गजुरेल विगतमा पूर्वमाओवादी धारका हुन् । जसले गर्दा यो समूह दाहाल–नेपाल पक्षमै खुलेको छ । अभिनेता दीपकराज गिरी पनि तटस्थ देखिएका छन् । तर, गिरीले संसद विघटनको प्रधानमन्त्रीको कदम ‘व्यवहारिक’ नभएको तर्क अघि सारेका थिए ।

लोकगायक बद्री पंगेनी पनि खुलेर कुनै पक्षमा लागेका छैनन् । उनी विगतमा एमाले निकट मानिन्थे र स्थानीय तहको चुनावमा उनले गाएको गीत सर्वाधिक लोकप्रिय बनेको थियो ।

हास्यकलाकार मनोज गजुरेल पनि तटस्थ छन् । निर्देशक मनोज पण्डित खुलेरै संसद विघटनको विपक्षमा उभिएका छन् ।

निर्माता एवं चलचित्र विकास बोर्डका पूर्वसदस्य नरेन्द्र महर्जन केपी ओलीको पक्षमा खुलेका छन् भनेर चलचित्र व्यवसायी देवेन्द्र खड्गी पनि ओलीको पक्षमा उभिएका छन् । कानुनीरुपमा नेकपा विभाजन नभैसकेकोले केही सेलेव्रिटी नेता चाहिँ परिस्थिती हेरेर अगाडि बढ्ने मनस्थितीमा देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *