हजार योगदान, लाखौं राहत – Nepal Press
सामाजिक सुरक्षा कोषको प्रभावकारिता (भाग–२)

हजार योगदान, लाखौं राहत

योगदानपछि राहतले दिएको खुसी

काठमाडौं । हेटौंडामा रहेको शिवम् सिमेन्टमा कार्यरत छन्, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका केशव बुढाथोकी । पाँच महिनाअघि काम गर्ने सिलसिलामा बुढाथोकी मोटरसाइकल दुर्घटनामा परे ।

दुर्घटनामा उनको छातीमा गम्भीर चोट लाग्यो । हेटौंडाका अस्पतालमा उपचार सम्भव नभएपछि ललितपुरमा रहेको बीएण्डबी अस्पतालमा उपचार गराए । उपचार गर्दा १ लाख १४ हजार २७ रुपैयाँ खर्च भयो ।

सीमित तलबमा काम गरिरहेका केशवलाई अब कसरी एक लाखभन्दा धेरै रकम तिर्ने भन्ने चिन्ता लागिरहेका बेला आफू सामाजिक सुरक्षा कोषमा आबद्ध भएको सम्झिए ।

त्यसपछि उनले आफ्नो उपचार गर्दा लागेको खर्चको बिल पेश गरे । उनलाई लागेको थियो, एक लाख खर्च लागे पनि केही रुपैयाँ मात्र कोषले व्यहोर्ला । बाँकी त आफैंले व्यहोर्नुपर्ने होला । तर त्यसो भएन ।

‘बिल पेश गरेको त, लागेको सबै पैसा कोषले नै व्यहोर्‍यो । त्यसपछि मलाई सारै खुशी लाग्यो । आर्थिक अवस्था कमजोर भएका र श्रमिकका लागि केही पनि सेवासुविधा नदिने कम्पनीमा कार्यरत रहे पनि कोषमा जोडिएपछि त कसैले केही नगरे पनि पुग्ने रहेछ ।

‘बिल पेश गरेको त, लागेको सबै पैसा कोषले नै व्यहोर्‍यो । त्यसपछि मलाई सारै खुशी लाग्यो । आर्थिक अवस्था कमजोर भएका र श्रमिकका लागि केही पनि सेवासुविधा नदिने कम्पनीमा कार्यरत रहे पनि कोषमा जोडिएपछि त कसैले केही नगरे पनि पुग्ने रहेछ ।

सबै सामाजिक सुरक्षा कोषले नै गर्ने रै’छ’, केशवले खुशी हुँदै सुनाए । उनले थपे, ‘म त भन्छु श्रमिकका लागि मात्र सामाजिक सुरक्षा कोष फाइदाजनक छैन, निजी कम्पनीका लागि पनि फाइदाजनक छ । कोषमा गएपछि कम्पनीले पनि श्रमिकलाई केही समस्या पर्दा व्यहोर्नुपर्दैन ।’

केशवले मात्र होइनन्, सामाजिक सुरक्षा कोषमा योगदान गरेर विभिन्न प्रकारका सेवा लिनेको संख्या १ हजार ६४१ पुगिसकेको छ ।

जसमा सबैभन्दा बढी औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी भुक्तानी लिनेको संख्या १ हजार १९१ रहेको सामाजिक सुरक्षा कोषका निर्देशक एवम् सूचना अधिकारी डाक्टर रोशन कोजुले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार दोस्रो नम्बरमा मृत्यु भइसकेपछि आश्रित परिवार सुरक्षा दाबी भुक्तानी लिनेको संख्या १९४ रहेको छ । ‘दुर्घटना तथा अशक्तता सुरक्षा दाबी भुक्तानी संख्या ७८ जनाले लिएका छन् भने ४८ जनाले उपदान दाबी भुक्तानी लिइसकेका छन्’, सूचना अधिकारी कोजुले भने ।

सामाजिक सुरक्षा कोषको पछिल्लो तथ्यांकअनुसार मुलुकभरमा १३ हजार ७२ रोजगारदाता कम्पनी सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् ।

ती रोजगारदाता कम्पनीबाट १ लाख ८४ हजार ५२७ जना श्रमिक आबद्ध भएका छन् । यसबाट कोषमा अहिलेसम्म ३५ अर्ब ९३ करोड रुपैयाँ संकलन भइसकेको छ भने अहिलेसम्म २५ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी वागमती प्रदेशमा ८ हजार ८३७ रोजगारदाता कम्पनीबाट १ लाख ३८ हजार ३३३ श्रमिक आबद्ध भएका छन् भने दोस्रोमा प्रदेश–१ मा १ हजार ८६० रोजगारदाता कम्पनीबाट १८ हजार ६५५ श्रमिक आबद्ध भएको कोषका सहायक प्रवक्ता समेत रहेका उप–निर्देशक रोहित रेग्मीले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार त्यसपछि क्रमशः लुम्बिनी प्रदेशमा ९४२ रोजगारदाता कम्पनीबाट ५ हजार ९०९ श्रमिक, गण्डकी प्रदेशमा ५९९ रोजगारदाता कम्पनीबाट ६ हजार ९९० श्रमिक, प्रदेश–२ मा ५३२ रोजगारदाता कम्पनीबाट १३ हजार ५१२ श्रमिक आबद्ध भएका छन् ।

रेग्मीले भने, ‘सबैभन्दा कम कर्णाली प्रदेशका १३४ रोजगारदाताबाट ४५३ श्रमिक र सुदूरपश्चिम प्रदेशमा १५० रोजगारदाता कम्पनीबाट ६७० श्रमिक आबद्ध भएका छन् ।’

तर कोषले आकस्मिक दुर्घटना बाहेक अन्य रोग लागेमा उपचार गर्नका लागि अस्पताल तोकेको छ । ती अस्पतालमा उपचार गरे मात्र औषधि उपचार गरेबापत लाग्ने रकम भुक्तानी दिनेछ ।

कोषका अनुसार प्रदेश–१ मा सबैभन्दा बढी १६ वटा अस्पताल, प्रदेश–२ मा १० वटा अस्पताल, वागमती र लुम्बिनी प्रदेशमा ९–९ वटा अस्पताल, गण्डकी प्रदेशमा ७ वटा अस्पताल र सुदूरपश्चिम प्रदेशमा ८ वटा अस्पताल तोकिएको छ । तर कर्णाली प्रदेशमा भने एउटा अस्पताल पनि तोकिएको छैन ।

यस प्रदेशका योगदानकर्ता बिरामी भएमा अन्य प्रदेशमा रहेका अस्पतालमा उपचार गर्न सक्ने सामाजिक सुरक्षा कोषले जनाएको छ । जसमा सरकारी तथा निजी दुवै प्रकारका अस्पताल रहेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चार वटा योजना रहेका छन् । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना अशक्तता सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चार वटा योजना रहेका छन् । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना अशक्तता सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् ।

योगदान गर्ने श्रमिकले अन्य के के सेवा–सुविधा पाउँछन् ?

‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ अनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्न सक्छन् । उनीहरूले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त हुनसक्छन् ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त हुन्छन् ।

योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महीनासम्मको शिशुको उपचार खर्च, अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवतजावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकामा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवाबापतको शुल्क निश्चित सीमाभित्र रहेर पाइन्छ ।

अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रूपमा एक लाख नबढ्ने गरी भर्ना भएको अस्पतालमा सीधै भुक्तानी गरिनेछ ।

योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत उल्लिखित रकमको हदमा नबढ्ने गरी दाबी गर्न सकिनेछ । अस्पताल भर्ना हुनु नपर्ने योगदानकर्तालाई चिकित्सकको सिफारिशका आधारमा वार्षिक रुपमा बढीमा २५ हजार सुविधा लिन पाइन्छ ।

महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रति शिशु एक महीनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ ।

यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ । पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा प्राप्त गर्छन् ।

रोजगारदाताबाट पारिश्रमिकसहितको बिरामी बिदा पाउने अवधि (कम्तीमा वार्षिक १२ दिन) भन्दा लामो अवधिसम्म अस्पतालमा बसी उपचार गराउँदा वा चिकित्सकको सिफारिशमा घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका योगदानकर्ताले त्यस्तो अवधिमा त्यस व्यक्तिको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम बिरामी सुविधाबापत पाइन्छ ।

पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि बाहेक प्रसूति बिदा बस्नु पर्दा त्यस अवधिका लागि त्यस व्यक्तिले खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतका हिसाबले योगदानकर्तालाई प्रसूति बिदाको रकम सुविधाबापत पाइन्छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई दुर्घटना र अशक्तता बापतको सुविधा प्राप्त हुन्छ । योगदानकर्ता श्रमिक रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषले व्यहोर्छ ।

दुर्घटनाजन्य सुविधा योगदान गरेकै मितिदेखि लागू हुन्छ भने व्यवसायजन्य रोगको उपचार खर्च योगदान गरेको दुई वर्षपछि मात्र पाइन्छ । रोजगारदाताले तोकेको काम गर्दा वा कार्य समयभित्र भएको वा कामको लागि आउने वा जाने क्रममा भएको जुनसुकै प्रकारको दुर्घटनालाई रोजगारीजन्य दुर्घटना मानिन्छ ।

दुर्घटनाजन्य सुविधा योगदान गरेकै मितिदेखि लागू हुन्छ भने व्यवसायजन्य रोगको उपचार खर्च योगदान गरेको दुई वर्षपछि मात्र पाइन्छ । रोजगारदाताले तोकेको काम गर्दा वा कार्य समयभित्र भएको वा कामको लागि आउने वा जाने क्रममा भएको जुनसुकै प्रकारको दुर्घटनालाई रोजगारीजन्य दुर्घटना मानिन्छ ।

रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाखसम्मको मात्र उपचार खर्च व्यहोर्छ । तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकामा वा सडक दुर्घटना भएमा वा अन्य बीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च व्यहोर्ने छैन । रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा त्यो व्यक्ति काममा नफर्कंदासम्म पाइन्छ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएका योगदानकर्ताको असक्षमताको अनुपातमा त्यस व्यक्तिले खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी त्यस व्यक्तिको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तिभरण सुविधाबापत मासिक रूपमा रकम पाइन्छ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले त्यस व्यक्तिले खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा स्वयम् जीवित रहुञ्जेल उसैलाई वा ऊ आफैं हिंडडुल गर्न नसकेमा उसलाई हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा निजलाई हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा आश्रित पति वा पत्नी निवृत्तिभरण, सन्ततिका लागि शैक्षिक वृत्ति, आश्रित बाबुआमालाई सुविधा, अन्तिम संस्कार खर्चबापतको रकम पाइन्छ ।

दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा उसको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले व्यक्ति जीवित रहेसम्म निवृत्तिभरण पाउँछन् । योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा नदिइने कार्यविधिमा उल्लेख छ ।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा उसको १८ वर्ष पूरा नभएको सन्ततिले उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउनेछ । एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले लिन पाउँछन् ।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा उसको १८ वर्ष पूरा नभएको सन्ततिले उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउनेछ । एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले लिन पाउँछन् ।

योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बाबुआमा छन् भने उसलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम उसको जीवनकालभर मासिक रूपमा कोषले प्रदान गर्छ । यदि योगदानकर्ताको बाबुआमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा लिन पाउँछन् ।

योगदानकर्ताको मृत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा उसको अन्तिम संस्कारका लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालाले २५ हजार रुपैयाँ एकमुष्ट पाउँछ ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले निवृत्तिभरण योजना र अवकाश सुविधा योजना प्राप्त गर्छन् ।

रोजगारदाताले श्रमिकका आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्ने १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्छ ।

२०७६ साल साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिक निवृत्तिभरण योजनामा सहभागी हुन पाउँछन् ।

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि उसले कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताका तर्फबाट भएको योगदानसमेत) र उक्त रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १८० महीना अर्थात् १५ वर्षले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना उसले जीवनकालभर पाउनेछ ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा उसको हकवालालाई उसले कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम नियमानुसार एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महीना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ ।

यो योजना लागू हुनुअगावै रोजगारीमा रहेका योगदानकर्ताले कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदानबापतको योगदान रकम, रोजगारदाताका तर्फबाट गरेको योगदान र कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम ऊ अवकाश हुँदाका बखत एकमुष्ट भुक्तानी पाउनेछ ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टा गरी त्यसको रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४०, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत बाँडफाँट गर्ने कार्यविधिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

जब अध्याँरो जीवनमा आशाको दीयो बल्यो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *