भारतीय मिडियामा प्रधानमन्त्रीको प्रस्तुति– धेरैको तारिफ, आलोचकको आशंका – Nepal Press

भारतीय मिडियामा प्रधानमन्त्रीको प्रस्तुति– धेरैको तारिफ, आलोचकको आशंका

काठमाडौं ।

नेपाल किन भारतलाई ठूलो दाइ मान्न तयार छैन् ?

भूगोल र जनसंख्यामा ठूलो र सानो हुन सक्छौं । हामी सधै सार्वभौमिक समानताको कुरा गर्छौं । अर्थात, हामी ठूलो दाइ र सानो भाइ होइनौं ।

कूटनीति संवाद जारी रहँदारहँदै पनि नक्सा परिवर्तन गर्नुभयो नि ?

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हुन् ।

उत्तरी छिमेकीसँग पनि समस्या छ ?

चीनसँग कुनै समस्या छैन ।

प्रधानमन्त्रीबाट हटाउन भारतले सडयन्त्र गर्‍यो भन्ने आरोप लगागउनु भयो ?

त्यो साँचो थियो ।

चीनको ‘ऋण पासो’मा फस्दै हुनुहुन्छ ?

‘ऋणको पासो’ आदी’इत्यादी भन्ने प्रश्न नै होइन ।

यो दुईवटा भारतीय टेलिभिजन मिडिया (जी न्यूज र वीओन) र प्रधानन्त्री केपी शर्मा ओलीबीच सोमबार भएको सवाल–जवाफको संपादित अंश हो ।

नेपाल लक्षित भारतीय पत्रकारहरुको प्रश्नको प्रधानमन्त्री ओलीले आत्मविश्वाससहित र स्पष्टताका साथ दिएको जवाफले धेरै-धेरै नेपालीलाई प्रभावित बनाएको छ । ओलीसँग असहमति राख्नेहरुले पनि उनको पछिल्लो अन्तर्वार्ताले गर्व लागेको टिप्पणी गरेका छन् ।

देशभित्र राजनीतिक कदमका कारण आफू इतर पंक्तिमा आलोच्य बनिरहेका प्रधानमन्त्री ओली बाह्य मामिलामा भने प्रशंसित भइरहेका छन् ।

देशभित्र राजनीतिक उथलपुथल भइरहेका बेला दुई छिमेकी लक्षित प्रश्नमा ओली ‘बोल्ड’ रुपमा प्रस्तुत भए । असली समर्थकहरुले त उनको प्रसंसा गान गाइरहेकै हुन्, छन् । तर, ओलीलाई खासै नरुचाउने र पछिल्लो राजनीतिक कदमले रिसाएकाहरुले समेत ओलीको प्रसंसा गरिरहेका छन् ।

निडरताका साथ भूगोल सानो र ठूलो भए पनि सार्वभौम हैसियत बराबर हुने, देशको सवालमा ‘बडे भाइ’ र ‘छोटे भाइ’को रणनीति नचल्ने र कालापानी–लिपुलेक नेपालको भूमि हो नि भनाइ राखेको भनेर सामाजिक संजालमा ओलीको प्रसंसा भइरहेको छ ।

प्रसंसा

केही समय राजनीतिमा समेत सामेल भएका पूर्वाधारविज्ञ सूर्यराज आचार्यले ओलीका गुण–अवगुणमा प्रश्न उठाउन सकिए पनि मिडियासँगको सवाल–जवाफ स्वागतयोग्य भएको टिप्पणी गरेका छन्।

‘प्रम केपी ओलीका गुण र अवगुण छन् नै,’ आचार्यले लेखेका छन्, ‘उनका महत्वपूर्ण निर्णय राष्ट्रहितका रणनीतिक लक्ष केन्द्रित भन्दा पनि सिर्फ तत्कालको लेनदेनको उदेश्यका लागि हो कि भनेर प्रश्न उठाउन पनि सकिएला। तर नेपालको स्वाभिमानको पक्षपोषण हुने गरी जी न्यूज टिभीको प्रश्नमा प्रम ओलीको सटिक जवाफ स्वागतयोग्य।’

टेलिभिजन पत्रकार राजेन्द्र बानियाले भारतले सुन्ने गरि निर्धक्कसँग कुरा राखेको भन्दै ओलीको तारफि गरेका छन् । ‘प्रधानमन्त्री ओलीसंग मेरा पनि हजार असहमति छन्,’ उनले लखेका छन्, ‘तर भारतसँग सुन्ने गरि आफ्ना र देशका कुरा राख्न सक्ने अनि निर्धक्क बराबरीको दाबी गर्ने तपाईंको साहसको तारिफ गर्दछु ।’

लेखक जैनेन्द्र जीवनले पनि ओलीको प्रसंसा गरेका छन्।

‘आन्तरिक राजनीतिमा एक पछि अर्को ‘बलन्डर’ गरिरहेकामा बिरोध गर्न नछाडौं,’ उनले लेखेका छन्, ‘तर जुन भारतीय मिडियाले उनको खेदो खन्यो, त्यसैलाइ आफ्नो राष्ट्रिय हित हुने र भारतीयहरुमा रहेको भ्रम चिर्ने गरेर नडराई अन्तरबार्ता दिएकोमा प्रधानमन्त्रीलाई धन्यबाद। बिरोध- समर्थन ‘मेरिट’मा गरौं, ‘मिसन’ बनाइ होइन ।’

त्यस्तै सूचना आयोगकी पूर्व आयुक्त तथा पत्रकार यशोदा तिम्सिनाले भारतीय सञ्चारमाध्यमलाई प्रधानमन्त्रीले दिएको अन्तर्वार्तालाई उत्कृष्ट भनेकी छिन्। ‘भारतीय सञ्चारमाध्यमलाई प्रधानमन्त्रीले दिनुभएको अन्तर्वार्ता उत्कृष्ट छ,’ उनले लेखेकी छिन्, ‘हर प्रश्नको स्पष्ट जवाफ छ । तोरीको दानामा प्वाल खोज्नेले पनि प्रसंसा गर्न कर लाग्छ ।’

राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेसको नीति प्रशिक्षण विभागका सदस्य सचिव समेत रहेका पुरुषोत्तम दाहालले प्रधानमन्त्रीको अन्तर्वार्ता प्रशस्त सूचना र प्रमाणका आधारमा सन्तुलित ढंगले आएको टिप्पणी गरेका छन् ।

दाहाल लेख्छन्–प्रधानमन्त्रीको अन्तर्वार्ता बौद्धिकताले भरिएको, प्रशस्त सूचना, प्रमाणका आधारमा र सन्तुलित थियो । हिन्दी भाषामा उहाँको राम्रो दखल थाहा भयो । उहाँमा इतिहासको जानकारी पर्याप्त देखियो, समग्रमा राम्रो छ ।

त्यस्तै वरिष्ठ पत्रकार घटना र विचारकी सम्पादक बबिता बस्नेतले पनि प्रधानमन्त्रीको अन्तर्वार्ताको प्रशंसा गरेकी छन् ।

उनी लेख्छिन्–प्रधानमन्त्री केर्प शर्मा ओलीले भारतीय मिडियालाई दिनु भएको हिन्दी र अंग्रेजी दुवै अन्तर्वार्ता हेरियो । आफ्नो देशका नेतालाई इतिहास पढाउने भारतीय पत्रकारहरुले हाम्रा प्रधानमन्त्रीबाट इतिहासको बारेमा जानकारी लिएर गए जस्तो लाग्यो ।

आशंका पनि

कतिपयले भने प्रधामन्त्री ओलीको ‘कथनी र करणी’मा एकरुपता नहुने हो कि भन्ने आशंका गरेका छन् ।

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले राजा महेन्द्रको पनि बेला–बेला खरो राष्ट्रवादीका रुपमा उत्रिने गरेको भए पनि उत्तिनै बेला झुक्न पनि तयार हुने गरेको बताउँदै ओलीप्रति पनि आशंका गरेका छन्।

‘राजा महेन्द्र भारतसँगको सम्बन्धमा बराबर खरो राष्ट्रवादी देखिन्थे,’ उनको टिप्पणी छ, ‘कहिलेकाहिं सो अनुरूप राम्रो निर्णय पनि गर्थे। जस्तै, भारतीय चेकपोष्ट नेपाली भूमिबाट हटाए । तर जागिरकालमा नै सुनेको कुरा–तेस्तो कार्यको लगत्तै ‘माइ डियर इन्डिया’ भनेर पत्र लेख्न पनि सक्थे। ठीक बेठिक आ–आफ्नो मूल्यांकन।’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘ओली प्रतिगमन’लाई मत्थर र विषयान्तर गर्न विदेश शक्ति लागेको दावी गरेका छन्।‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री र बाहिरी शक्तिहरूबाट गुथाइनेछ,’ उनले लेखेका छन्, ‘नेपाली जनता र देशलाई उही निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाइनेछ! चेतना भया!’

जनस्वास्थ्यविद् समीरमणि दीक्षितले भने अन्तर्वार्तालाई प्रायोजित भनेका छन्। ‘भारतीय मिडिया आयो, पुर्णरुपमा प्रायोजित अन्तर्वार्ता लियो,’ उनको दावी छ, ‘नतिजा : दुबै देशमा उहाँलाइ ‘भिजिबिलिटी’ मज्जाले दियो । हिन्दी मै बोलेर भारत रिझाउन सफल भए। नेपालीले पनि उहाँका अभिव्यक्तिलाई वाह–वाह गर्दैछन् । राजनीति मज्जाले जानेका छन् है हाम्रा प्रम ले !’


प्रतिक्रिया

One thought on “भारतीय मिडियामा प्रधानमन्त्रीको प्रस्तुति– धेरैको तारिफ, आलोचकको आशंका

  1. 1 Comment
    Sort by
    Newest
    Add a comment…
    Also post on Facebook
    Commenting as
    Homnath Paudel
    Post

    Homnath Paudel
    वा दुबै भारतीय न्यूज च्यानलले प्र.म के पि जि लाई सोधेका प्रस्नलाई सजिलोसँग र ईतिहाँसको बारेमा र सबै चित्त बुझ्ने गरि हरेक जवाफ नेता भनेका यस्ता पो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर