कमला ह्यारिसमाथि कभर स्टोरी छाप्दै भगले लेख्यो –विश्व फेसन र फिल्ममा बिहानीको उदय ! – Nepal Press

कमला ह्यारिसमाथि कभर स्टोरी छाप्दै भगले लेख्यो –विश्व फेसन र फिल्ममा बिहानीको उदय !

पहिलो अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई फिल्म र फेसन उद्योगबाट स्वागत हुन थालेको छ । प्रतिष्ठित फेसन म्यागजिन भगले कभरस्टोरीको लागि फोटोसुट नै गर्‍यो । भग लेख्छ –ह्यारिसको विजयले अमेरिकी राजनीतिमा नयाँ विहानीको संकेत गर्छ ।

भगको जनवरी संस्करणमा ह्यारिसको फोटोसुटले चर्चा बटुल्यो । जहाँ उनलाई कन्भर्स स्निकर्स र डोनाल्ड डिल ब्लेजरमा देख्न सकिन्छ । यो फेसन स्टेटमेन्टको छनौट चाहिँ ह्यारिसको आफ्नै हो । यो पहिरनमा ह्यारिसको मुस्कानले अझै फोटोसुटलाई ताजा तुल्याउँछ ।

हावर्ड विश्वविद्यालयमा अध्ययनरत छँदाको गेटअपमा ह्यारिसलाई प्रस्तुत गरिएको छ । ‘यो फोटोसुट ह्यारिसको युनिभर्सिटी बेलाप्रति समर्पित छ’ भगका फेसन सम्पादक जेनेली ओकोडु लेख्छन्, ‘यो डिजाइन त्यतिबेलाको चर्चित अल्फा कप्पा अल्फाको पहिरनमा आधारित छ ।’ हावर्डको अल्फा च्याप्टर नामक विद्यार्थी संगठनमा हुने डिजाइनमा ह्यारिसलाई भगले उतारेको छ ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र ह्यारिसको पहिलो सय दिनको प्राथमिकता चाहिँ अमेरिकामा फैलिएको कोरोनाभाइरस महामारीको नियन्त्रण हो । महामारीले स्कुल जान नपाएका बालबालिका र उचित स्वास्थ्य प्रबन्ध नपाएका फ्रन्टलाइन वकर्स र उनीहरुको दुःखलाई लिएर ह्यारिस चिन्तित देखिन्छिन् । साथै, कोरोनाले थलिएका साना व्यापारलाई उकास्ने उनको योजना रहेको भगले लेखेको छ ।

विश्व फेसनसँगै अमेरिकी र भारतीय फिल्म उद्योगले पनि ह्यारिसलाई स्वागत गरेको छ । ह्यारिस दक्षिण एसियाली मूलकी पनि हुन् । उनको विजयमा हलिउड र संगीतकर्मीले पनि स्वागत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *