मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन, प्राध्यापकको समर्थन – Nepal Press

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन, प्राध्यापकको समर्थन

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनको ‘मौसम’ सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको कर्णालीको एक मात्र विश्वविद्यालय एमयूमा अघिल्ला वर्षहरुमा जस्तै हिउँदमा विद्यार्थी आन्दोलन सुरु भएको छ र त्यसलाई प्राध्यापकहरुले समर्थन गरेका छन् ।

पुस २६ गते विद्यार्थीहरुले विश्वबिद्यालय प्रशासनसँग बिभिन्न माग राखी गरेको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परि केहि विद्यार्थीहरु घाइते भएका थिए । विद्यार्थीहरुले मौका परीक्षा दिन पाउनुपर्ने जस्ता मागहरु राखेका भए पनि प्रशासनले भने आवश्यकता अनुसार विद्यार्थीहरुका जायज माग सम्वोधन गर्ने तर नाजायाज मागहरु सम्वोधन गर्न नसकिने बताइरहेको छ ।

उपकुलपति प्राडा नन्दबहादुर सिंहले वास्तविक विद्यार्थीहरुको जायज मागलाई सम्वोधन गर्ने तर परीक्षा नै नदिएर पास गराउनुपर्ने जस्ता माग आए आफूले नमान्ने यसअघि नै बताइसकेका छन् ।

विद्यार्थीहरुले भने आफूहरुले मौका परीक्षा दिनुपर्ने जस्ता माग राख्दा प्रशासनले प्रहरी प्रयोग गरी दमनको नीति अख्तियार गरेको आरोप लगाएका छन् । विश्वविद्यालय परिसरमा सोमबार, आज मंगलबार टायर बालेर प्रदर्शन भइरहेको छ । उनीहरुले उपकुलपति विरुद्ध चर्का नारा लगाएका छन् ।

यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्यापन गरिरहेका प्राध्यापकहरुले एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालय प्रशासनले प्राज्ञिक थलोको गरिमा घटाइरहेको आरोप लगाएका छन् ।

प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालका अध्यक्ष रुपेश खत्री, नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष चित्रबहादुर केसी, नेपाल प्राध्यापक समाजका अध्यक्ष शारदा पौडेल र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष राजेश जोशी गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा विद्यार्थीमाथि बल प्रयोग गर्नु निन्दनीय भएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलित विद्यार्थीका जायज मागलाई वार्ता र सम्वादका माध्यमबाट समाधान गर्न, विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सेवा सुविधा नियमित रुपले उपलब्ध गराउन र स्थायीत्व प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गर्दछौं । ऐन अनुसार एमयू सञ्चालन गर्न, रिक्त पदाधिकारीहरुको नियुक्ती गर्न, विश्व विद्यालय सञ्चालनमा साझा सहभागितालाई सुनिश्चित गर्ने कार्यलाई वेवास्ता गरिएमा कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने जानकारी गराउँछौं ।’

यता, विश्वविद्यालयमा पनि नेकपा विभाजनको प्रत्यक्ष असर देखा परेको छ । प्रचण्ड नेपाल समूह सर्मथक प्राध्यापक संघ र विद्यार्थीहरु खुलेर आन्दोलनमा सहभागी भएका छन भने ओली पक्ष सर्मथित विद्यार्थी तथा प्राध्यापकहरु मौन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *