मधेशी जनतालाई केपीले हैन प्रचण्डले धोका दिएका हुन् :प्रभु साह – Nepal Press

मधेशी जनतालाई केपीले हैन प्रचण्डले धोका दिएका हुन् :प्रभु साह

कलैया। नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले मधेशी जनतालाई केपी शर्मा ओलीले नभई प्रचण्डले धोका दिएको बताएका छन् ।

सोमबार नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले प्रचण्डले पटक पटक मधेशलाई वाचा गर्दै पटक पटक धोका मात्र दिएको जिकिर गरे ।

प्रचण्डले जनयुद्धदेखि आजको समयसम्म आउदा मधेशलाई फरक फरक आश्वासन दिएको तर कुनै पनि पुरा नगरी धोका मात्र दिएको नेता साहले बताए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशलाई झुटा आश्वासन दिनुको सट्टा विकासको एजेन्डालाई निरन्तर कायम राखेको नेता साहको भनाई छ ।

प्रचण्डले मधशेलाई आत्म निर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारी जस्ता एजेन्डा दिएको भएपनि हरेक कालखण्डमा आफ्नो निजी स्वार्थमा उपयोग गर्दै कुरा फेरेर धोका दिएको नेता साहले बताए । अहिले मधेशले प्राप्त गरेको अधिकार पनि आफुहरुका कारण पाएको नेता साहको जीकिर छ ।

‘जब हामी जनयुद्धमा थियौं, त्यतिबेला प्रचण्डजीले आत्म निर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारीका कुरा गर्नुहुन्थ्यो । सुरुमा झापा देखि कञ्चनपुरसम्म एउटै मधेश प्रदेश बनाउने भन्नुभयो, शान्ति प्रक्रियातिर आउदा थारुवान र मधेश गरी दुई प्रदेश बनाउने भन्नुभयो । पहिलो संविधानसभामा पाँच वटा प्रदेश, दोस्रो संविधानसभाको संविधान निर्माणसम्म आईपुग्दा उहाँले संघीय गठबन्धनलाई धोका दिएर पहिचानको मुद्दा नै बेच्नुभयो ।’

नेता साहले भने, ‘प्रचण्डजीले भनेजस्तो मधेशले न त आत्म निर्णयको अधिकार पायो, न त स्वायत प्रदेश, न त समान हिस्सेदारी पायो । आफ्नो स्वार्थ पुर्ति गर्न प्रचण्डले मधेशलाई निरन्तर धोका मात्र दिनुभएको छ । आज मधेशले जे जति पाएको छ त्यो तपाई हाम्रो बलमा आएको हो, नभए प्रचण्डजीले त्यो पनि बेचिसक्नु हुन्थ्यो ।’ तर केपीजीले सुरुदेखि अहिलेसम्म जे भन्नुभयो, त्यसमै उहाँको स्ट्यान्ड छ । उहाँले सधै मधेशलाई विकासको मात्र वाचा गर्नुभयो, जुन पुरा हुँदै गएको छ ।’

नेता साहले थपे, ‘त्यसैले म आग्रह गर्नचाहन्छु, धोका दिनेलाई हैन आफ्नो बोलीमा खडा भई उभिनेलाई साथ दिनुहोस् ।’

कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सचिव एवम् राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर