चारैतिरबाट घेराबन्दी गरेपछि जनतामाझ जाने निर्णय गरियोः मन्त्री अर्याल – Nepal Press

चारैतिरबाट घेराबन्दी गरेपछि जनतामाझ जाने निर्णय गरियोः मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले आफ्नै पार्टीका नेताहरुबाटै चारैतिर घेराबन्दी गरेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताइन् ।

गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजना गरिएको नेकपाको सभालाई सम्बोधन गर्नेक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टीअध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलपन नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताइन् ।
उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन् ।

‘पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमागएर अल्झियो’, मन्त्री अर्यालले भनिन्,‘पद लोलुपहरुले चारैतिरबाट घेराबन्दी गरेर बस्नखानै नदिएपछि प्रधानमन्त्री ज्यूले जनताको अदालतमा जाने निर्णय गर्नुपर्‍यो । जनताको अदालतमा जाने उक्त निर्णय लोकतान्त्रिक विधि हो ।’

आम जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरुले राष्ट्रपतीलाई महाअधियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको समेत नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इञ्चार्ज समेत रहनुभएकी मन्त्री अर्यालले बताइन् ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउनेगरी सांसदहरुको हस्ताक्षर संकलन गरियो । यस्तो बिचित्रको दृश्य आफ्नै पार्टीभित्र देख्नुपर्‍यो । त्यसैले बाध्य भएर प्रधानमन्त्रीले यस्तो कदम चाल्नुभएको हो’, मन्त्री अर्यालले भनिन्, ‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछि मुसा पनि बाहिर आउन खोज्छ । जनताले ५ वर्षका निम्ती जनताले मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछी । सरकारलाई काम गर्नै नदिएपछी यस्तो कदम चाल्नुपर्‍यो ।’

सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमिन फिर्ता लिने कार्य अगाडी बढाएपछी आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन आफ्नै पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताइन् ।

विश्व जनसमुदायमै चर्चाको विषय बन्नेगरी नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाई मापन गरेपनी त्यसलाई आफ्नै देशमा गलत रुपमा ब्याख्या गर्ने गरिएको समेत उनले भनिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर