प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कपिलवस्तु पराजित – Nepal Press

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कपिलवस्तु पराजित

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४० रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ७ विकेट गुमाई ११९ रन बनायो । उसका लागि अमर रसाइली ३४, इकलाख अहम्मदले नटआउट १९ र अर्पण लोनियाले १२ रनको योगदान दिए ।

बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले २, गणेश हरिजन, रमज अग्रहरी, वसिर अहम्मद, शिव कुँवरले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २३.४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । उसका लागि इमरान खानले १८, रवि शुक्लाले नटआउट १३ र राज अग्रहरीले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् ।

बलिङमा नवलपरासीका अजित यादवले र जितेन्द्र साहनी ३/१ तथा अर्पण लोनिया, इकलाख अहम्मद र रविस कुर्मीले १/१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच भए । भोलि पाल्पा र नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ । आजको खेल मौसम खराबी भएपछि २६ ओभरमा छोट्याइएको थियो ।

उता आजबाट दाङको लमहीमा सुरु भएको समूह ‘बी’को पहिलो खेलमा दाङले बर्दियालाई ६७ रनले पराजित गरेको छ । दाङले २०९ रन बनायो भने बर्दिया १३३ रनमा अलआउट भयो ।

समूह ‘बी’अन्तर्गत भोलि लमहीमा बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापनपछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडांैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *