कोड्कु खोला हाउजिङको नाममा पास गर्नेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर – Nepal Press

कोड्कु खोला हाउजिङको नाममा पास गर्नेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको धापाखेलस्थित कर्मनासा (कोड्कु) खोला र खोला आसपासको सरकारी जग्गा हाउजिङ कम्पनीका नाममा पास गर्ने मालपोत तथा नापीका कर्मचारी र हाउजिङ कम्पनी सन्चालक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतवार विशेष अदालतलमा जनही २ करोडभन्दा माथि बिगो दावी सहित नापी कार्यालयका अधिकृत बुद्धिमान जैसी, बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगरविरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै मालपोत कार्यालय ललितपुरका तत्कालिन कार्यालय प्रमूख उपसचिव बाबुराम खनाल, नायव सुब्बा ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले खोलाको जग्गा आफ्नो नाममा पार्ने युरो हाउजिङका गुणिकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकवहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्जल मानन्धर विरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको जनाएको छ ।

त्यस्तै काठमाडौं अस्पतालका सन्जालक ईश्वरलाल आचार्य, दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचनलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरिएको छ । युरो हाउजिङ डेभलपर्स प्रालि, युरो ल्याण्ड डेभलपर्स प्रालि र काठमाडौं हस्पिटल प्रालिका कम्पनी संचालकहरु तथा सरकारी कर्मचरीहरुको मिलेमतो र बदनियतबाट सार्वजनिक जग्गा कम्पनीको नाममा घुसाई प्लटिङ गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।

यो गिरोहले २०२२ सालको नापी नक्सालाई तोडमोड गरि नयाँ फाइल नक्सा बनाएर सार्वजनिक जग्गासमेत प्लटिङ गरे व्यक्ति विशेषलाई बिक्री वितरण गर्न लागेको उजुरीपछि अख्तियारले छानविन थालेको थियो ।

ललितपुर महानगरपालिका वडा नम्बर २३ र २८ को कुल आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर