कार्यकर्तालाई वामदेवको अपिलः शीर्ष नेता अयोग्य भए, पुन: एकीकरणका लागि दबाब दिनुहोस्(विज्ञप्तिसहित) – Nepal Press

कार्यकर्तालाई वामदेवको अपिलः शीर्ष नेता अयोग्य भए, पुन: एकीकरणका लागि दबाब दिनुहोस्(विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सुरु गरेका नेता वामदेव गौतमले आम कार्यकर्तालाई पार्टी पुनः एकीकरणका लागि शीर्ष नेतालाई दबाब दिन आग्रह गरेका छन् । शीर्ष नेताले कम्युनिष्ट आन्दोलन र कार्यकर्ताको भावनाविपरीत पार्टी विभाजन गर्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै नेता गौतमले आपसी सद्भाव र सौहार्दतालाई कायम राख्दै पुनः एकीकरणका लागि जोड दिन अपिल गरेका हुन् ।

शनिबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्– नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्याेतक हो ।

आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने पुष्पकमल दाहाल प्रचण्ड र अविश्वास प्रस्तावको सामना नगरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली दुवैको कदम गलत भएको निष्कर्ष निकाल्दै उनले पुनः एकीकरणमा जोड दिएका हुन् ।

पार्टी विभाजन हुन नदिन अन्तिमसम्म प्रयास गरेका नेता गौतमले पुनः एकीकरणका लागि अभियान नै चलाएका छन् ।

गौतमले जारी गरेको अपिलको पूर्णपाठ पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
एकता राष्ट्रिय अभियान
अपिल
आदरणीय कमरेडहरु,

आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । यो संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजनतर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीअन्तर्गत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुईतिहाइ नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो ।

यो उपलब्धि मार्क्सवाद लेनिनवादको मार्गदर्शनमा विकसित जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ति हने छैन । तर सरकार संचालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतीत नहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद र पीडादायी भएको छ ।

नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो ।

हामी सबैलाई थाहा हुनुपर्छ, चार दशक देखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश बर्ष सम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका बीच भएको एकीकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो । राष्ट्रिय राजनीतिमा महत्वपूर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको विचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वाभाविक हो ।

तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानूनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सके पछि मतभिन्नता त्यति जटिल हुने देखिदैन । सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो ।

तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो । पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमतिअनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो । अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो । यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दूर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ ।

पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्नेसम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो ।

पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरण पछिको यो एक वर्ष नेतृत्वको ध्रुवीकरणमा बित्यो । पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्होन परेको छ ।

यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै क.केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क. पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन् । प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । साथै नीजि क्षेत्रका दर्जनभन्दा बढि कानूनविदहरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ । दुबै समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो हक दावी गर्दै निर्वाचन चिन्ह्मसमेत आफ्नो दावी गरिरहेका छन् ।

उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु ।

यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनःएकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफि दिने छैनन् ।

उपरोक्त दुबै समूहमा सामेल हुनुभएका कमरेडहरु,

एक अर्कालाई दोष दिँदै सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै शुरु गर्नुभएको लडाई बन्द गर्नुहोस र फर्कनुहोस, पुनर्मिलन गर्नुहोस र हजारौं शहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।

देश र विदेशमा रहनु भएका हाम्रो पार्टीका प्रिय कमरेडहरु,

नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस् । तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् । कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस् । घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्नुहोस् । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस् ।

कहिलेकाहीँ कोरोना महामारीबाट बँच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।

लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन !
धन्यवाद !
वामदेव गौतम
संयोजक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान

 


प्रतिक्रिया

One thought on “कार्यकर्तालाई वामदेवको अपिलः शीर्ष नेता अयोग्य भए, पुन: एकीकरणका लागि दबाब दिनुहोस्(विज्ञप्तिसहित)

  1. आज वामदेव पानीमाथिको ओभानो हुन खोज्दैछन्। सचिवालय बैठकमा पक्षविपक्षमा नलागि एकताको पक्षमा किन उभिएनन्? वामदेवहरू कै कारणले प्रचण्डको आत्मबल बढ्यो, माधवहरू विधि तोडेर दौडिए। ओली आफ्नो प्रतिरक्षामा संसद विघटन गर्न बाध्य भए। यदि सचिवालय बैठकमा वामदेवले प्रचण्डको प्रस्तावको विपक्षमा उभिएको भए आज नेकपा विभाजनउन्मुख हुने आधार नै बन्ने थिएन। तथापी वामदेवले मूल कारक प्रचण्ड देख्नु सकारात्मक नै हो।

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर