चार पूर्वप्रधानन्यायाधीशलाई गोकुल बास्कोटाको सुझाव– प्रचण्डको पार्टीबाट चुनाव लड्न आऊ – Nepal Press

चार पूर्वप्रधानन्यायाधीशलाई गोकुल बास्कोटाको सुझाव– प्रचण्डको पार्टीबाट चुनाव लड्न आऊ

काठमाडौं । विभाजित नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अदालतमा बिचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि दबाबमूलक विज्ञप्ति जारी गर्ने पूर्व प्रधानन्यायाधीशहरुलाई प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टीमा लाग्न सुझाव दिएका छन् ।

नेकपा काभ्रे जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै बास्कोटाले चार पूर्व प्रधानन्यायाधीशलाई प्रचण्डको पार्टीको सदस्य बनेर चुनाव लड्न चुनौति दिएका हुन् ।

बास्कोटाले भने–श्रीमानहरुलाई राजनीति गर्न मन लागेको भए दाहाल–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको बेला भूतपूर्वहरुले सडकबाट फैसला सुनाउने होइन । अहिलेसम्म उनीहरुले कस्ता फैसला गरेका रहेछन् ?

काभ्रेमा नेकपाको मूलधार आफूहरुनै रहेको भन्दै बास्कोटाले चारवटा आलु कुहिएर झरे पनि काभ्रेमा उनीहरुले आफूहरुलाई पराजित गर्न पुग्ने मत समेत ल्याउन नसक्ने बताए । प्रतिनिधिसभा निर्वाचनमा ५६ हजार मतका साथ बिजयी भएका बास्कोटाले सो क्षेत्रमा प्रचण्ड माधव नेपाल पक्षले साँढे ८ हजारसम्म मत ल्याउन सक्ने आँकलन गरे ।

सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि उनले चेतावनी दिए । ‘भूतपूर्वहरुले फैसला गर्ने हैन वर्तमानले गर्ने हो,’ उनले भने, ‘अहिलेसम्मको विधि त त्यही होला नि श्रीमानहरु ।’

सर्वोच्च अदालतका चार पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले हिजो प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर