मन्त्रालयको दबाबमा फिल्म रिलिज राेकियाे – Nepal Press
कोरोना कहर

मन्त्रालयको दबाबमा फिल्म रिलिज राेकियाे

मन्त्रिपरिषद्को निर्णय नहुँदासम्म अनुमति दिन नसकिने

काठमाडौं । संचार मन्त्रालयको दबाबमा नयाँ फिल्म रिलिजमा रोक लगाइएको छ । जसले गर्दा शुक्रबार रिलिज हुने भनिएको हलिउड फिल्म ‘मन्स्टर हन्टर’को रिलिज रोकिएको छ । माथिको आदेश भन्दै चलचित्र विकास बोर्डले बक्सअफिस कोड उपलब्ध नगराउँदा वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले अन्तिम समयमा रिलिजलाई स्थगित गर्नुपरेको छ ।

संचार सचिव हरिप्रसाद बस्यालले बोर्ड अध्यक्ष दयाराम दाहाललाई मन्त्रिपरिषद् निर्णय नहुँदासम्म नयाँ फिल्म सेन्सर र रिलिज नगर्न निर्देशन दिएका छन् । मन्त्रालयको निर्देशनको बाबजुद पनि बोर्डले जबर्जस्ती फिल्मको सेन्सर चाहिँ गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष दाहालले अब मन्त्रिपरिषद्को निर्णय नहुञ्जेलसम्म नयाँ फिल्म रिलिज गर्न अनुमति नदिने बताए ।

मन्त्रालयले रिलिज रोकेलगत्तै अध्यक्ष दाहाल शुक्रबार विहान संचार सचिवसँग ‘वारपार’ छलफल गर्न भन्दै सिंहदरबार पुगेका थिए । ‘धेरै नै ल्याङ ल्याङ भयो’ दाहालले भने, ‘हल खुलाउनुपर्छ भनेर मन्त्रालयमा १७ वटा पत्र लेखिसके‌ तर सुनुवाइ हुन सकेन । मन्त्रिपरिषद निर्णय नहुञ्जेलसम्म सेन्सर गर्न र बक्सअफिस कोड नदिन आदेश आएको छ ।’

विहिबार सेन्सर गरेपछि बक्सअफिस कोड लिन बोर्ड पुगेका एप्पल इन्टरटेनमेन्टका प्रतिनिधिलाई अध्यक्ष दाहालले जबर्जस्ती फिल्म नचलाउन र चलाएको पाइए हल र वितरकलाई ‘अप्ठ्यारो’ पर्न सक्ने चेतावनी दिएका थिए । लगत्तै, क्यूएफएक्सले सार्वजनिक गरेको नयाँ रिलिज फिल्मको सोजलाई समेत अन्तिम समयमा स्थगित गर्नुपरेको थियो । केही मल्टिप्लेक्सले ‘मन्स्टर हन्टर’को सोज समेत आउट गरिसकेका थिए ।

सरकारले नयाँ फिल्म रिलिजमा रोक लगाउने बताएपछि चलचित्र संघले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । संघका गोपाल कायस्थ र देवेन्द्र खड्गीले सरकारविरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा हुनसक्ने बताए । ‘अरु क्षेत्र खुलिसकेपनि फिल्मलाई अनुमति नदिने काम खेदजनक छ’ कायस्थले भने, ‘अब बैठक बसेर थप कार्यक्रम टुंगो लगाउँछौं ।’ व्यवसायीले गत पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएपनि सरकारले फुकुवा गरिसकेको छैन ।

बोर्ड अध्यक्ष दाहालले सरकारको निर्णय मान्नु आफ्नो दायित्व भएको बताए । बोर्डले नयाँ कोरोनाभाइरसको सम्भावित संक्रमणले गर्दा पुनः फिल्म हल बन्द गर्नुपर्ने स्थिती आउन सक्ने समेत जनाएको छ । नयाँ भाइरसको पुष्टि गर्नको लागि स्वास्थ्य मन्त्रालयले केही नमुना विहिबार हङकङ पठाएको छ । संक्रमणको जोखिम कायमै रहेकाले फिल्म रिलिज गर्ने र हल खुलाउने योजनामा सरकारी देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *