देउवालाई कांग्रेस नेताको आग्रह–पृथ्वी जयन्ती मनाउन दबाब दिनुस् – Nepal Press

देउवालाई कांग्रेस नेताको आग्रह–पृथ्वी जयन्ती मनाउन दबाब दिनुस्

काठमाडौं। नेपाल राज्यको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको कदर स्वरुप ‘पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ मनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसकै नेताले निवेदन दिएका छन्।

त्यस्तो निवेदन दिनेमा पूर्व केन्द्रीय सदस्य एवम् पूर्व प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे र महासमिति सदस्य लोकेश ढकाल छन्। बिहीबार उक्त निवेदन देउवालाई बुझाइएको ढकालले उल्लेख गरेका छन्।

‘नेका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे र मेरो संयुक्त हस्ताक्षरमा ‘पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ मनाउने सम्बन्धमा निर्णय गर्न अनुरोध गर्दै तयार पारिएको निवेदन मैले आज सभापति श्रद्धेय श्री शेरबहादुर देउवालाई एक भेटकाबीच हस्तान्तरण गरें’ ट्वीटरमा उनले लेखेका छन्।

निवेदनमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउन पार्टीमा निर्णय गर्न र सरकारलाई पनि त्यसका लागि आग्रह गर्न अनुरोध गरिएको छ।

स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने शाह आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।

गणतन्त्र आउनुअघि उनको सम्झनामा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो। योगी नरहरिनाथले नेपालका राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया शुरू गरेका थिए । तर, गणतन्त्र आएपछि भने सरकारले यसलाई खारेज गरेको थियो । हाल विभिन्न समूह र पक्षले २७ पुसमा पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनुपर्ने भन्दै त्यसका लागि सरकारलाई दबाब दिइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *