लिग कपको उपाधिका लागि म्यानचेस्टर सिटी र टोटनह्याम भिड्ने – Nepal Press

लिग कपको उपाधिका लागि म्यानचेस्टर सिटी र टोटनह्याम भिड्ने

म्यानचेस्टर डर्बीमा सिटीको विजय

एजेन्सी । चीर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । वेम्बलीमा हुने फाइनल भिडण्तमा सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो हाफमा जोन स्टोनेस र फर्नान्डिन्होको गोलमार्फत सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीबाट खारेज गरिएको थियो ।

स्टोनेसले युनाइटेडको कमजोर रक्षापंक्तिको फाइदा उठाएका हुन् । उनले दोस्रो हाफ सुरु भएको ५ मिनेटपछि फिल फोडेनको फ्रिककलाई क्लोज रेन्जबाट गोल गरे ।

त्यसपछि पेप ग्वार्डिओलाको टिम सिटीले लगातार अवसरहरु सृजना गरिह्यो । युनाइटेडका एन्थोनी मार्सल र आरोन वान विसाकाले पनि एउटा अवसर गुमाएका थिए । ८३ औं मिनेटमा फर्नान्डिन्होले २० यार्डबाट आकर्षक भली प्रहार गोलमा परिणत भएपछि खेलले निर्णायक मोड लियो ।

अप्रिल २५ मा हुने टोटनह्यामबिरुद्धको फाइनल जितेमा सिटीले लगातार चारपल्ट लिग कप जित्ने लिभरपुलको कीर्तिमान बराबरी गर्नेछ ।

सिटीका प्रशिक्षक ग्वार्डिओला र टोटनह्याम प्रशिक्षक जोसे माउरिन्होबीच सन् २०११ पछि पहिलोपल्ट फाइनल प्रतिस्पर्धामा भेट हुन लागेको हो । त्यतिबेला ग्वार्डिओला बार्सिलोना र माउरिन्हो रियल मड्रिडमा थिए, ती दुई टोलीले कोपा डेल रे को फाइनल खेलेका गिए । त्यतिबेला बार्सिलोनाले सिजनको तीन ठूला उपाधि जितेको थियो ।

म्यानचेस्टर सिटीले सन् २०१३÷१४ को सिजनयता पाँचपल्ट लिग कपको उपाधि जितेको छ । मंगलबार राती भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरी टोटनह्याम सेमिफाइनलमा पुगेको हो । टोटनह्याम पनि सन् २००८ यता ठूला प्रतियोगितामा उपाधिबिहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर