मृतक संख्या ४ पुग्यो, ५२ जना पक्राउ- वासिङटनमा १५ दिन आपतकाल – Nepal Press
अमेरिकी संसद भवन आक्रमण

मृतक संख्या ४ पुग्यो, ५२ जना पक्राउ- वासिङटनमा १५ दिन आपतकाल

अमेरिकी संसदमा भएको आक्रमण र तोड्फोड घटनामा मृत्यु हुनेको संख्या चार पुगको छ । वासिङ्टन डीसी प्रहरीका अनुसार थप ५२ जना पक्राउ परेका छन् र रिपलिब्कन र डेमाक्रेटिक पार्टी कार्यालयबाट दुईवटा पाइप बम बरामद भएको छ ।

मृत्यु हुनेमा एक नाभी अफिसर घटनास्थलमै र तीनजना उपचारको लागि अस्पताल लैजाँदै गर्दा भएको हो । १४ जना प्रहरी अफिसर घाइते भएका छन् । डीसीका मेयरले १५ दिनको लागि सार्वजनिक आपतकाल लगाउने निर्णय गरेका छन् । विहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएपनि त्यसलाई उल्लंघन गर्दै लगातार हिंसात्मक प्रदर्शन भैरहेका छन् । एरिजोनामा बाइडेनको विजयलाई उल्ट्याउने रिपब्लिकन सांसदहरुको प्रयास असफल भएको छ ।

अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो । सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसे । सभामुखको कार्यकक्षमै पसेर, कुर्सीमा बसेरै ट्रम्पको पक्षमा नाराबाजी भयो ।

संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भयो । उक्त झडपमा प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको सीएनएनले पुष्टि गरेको छ । ती महिलालाई छातीमा गोली लागेको थियो । प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।

वासिङ्टनमा मेयरले घोषणा गरेको कफ्र्यु सुरु भएको छ । बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्युको बाबजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शन भैरहेको छ । राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकले संसदमा गरेको आक्रमणलाई प्रतिरक्षा गरेको खबर आइरहेको छ ।

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमाथिको आक्रमण लोकतन्त्रमा शोभनिय नभएको बताएका छन् ।

ट्रम्पले अमेरिकी लोकतन्त्रको अपहरण गर्ने प्रयास गरेको उनीहरुको आरोप छ । तर, ट्रम्पले चाहिँ प्रदर्शनकारी समर्थकलाई घर फर्किन निर्देशन दिइसकेका छन् । अमेरिकी जनताको भोट चोरिएको आरोप संसद भवनभित्रै नाराको रुपमा लगाइएको थियो ।

संसद भवनभित्रै स्थिती तनावग्रस्त बनेपछि सभामुख न्यान्सी पेलोसी, उपराष्ट्रपति माइक पेन्स र अन्य सांसदलाई सुरक्षित स्थानतर्फ लगिएको थियो । लगत्तै नेसनल गार्डले संसद परिसरमा लकडाउन घोषणा गरेका थिए । प्रदर्शनकारी संसद भवनभित्र तोडफोड गर्दा पनि प्रहरी मूकदर्शक बनेको देखिन्थ्यो । केही प्रदर्शनकारीले तोडफोड गर्दै प्रहरीसँग सेल्फी लिइएको दृश्यहरु थिए ।

ट्रम्पले आफ्नो हारलाई रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेको बीबीसीले उल्लेख गरेको छ । निर्वाचित राष्ट्रपति बाइडेनले डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

१२ इलेक्टोरल मत प्रमाणिकरण गरेर स्थगित भएको संसदको संयुक्त बैठक कतिबेलादेखि सुचारु हुने निश्चित छैन । संसद भवनबाट सबै प्रदर्शनकारीलाई बाहिर निकालिएको छ । अहिलेसम्म जम्मा २ वटा राज्यको मात्र इलेक्टोरल मत प्रमाणिकरण गरिएको छ । अलाबाम र अलास्काको मत प्रमाणिकरण गरे लगत्तै एरिजोनाको मत प्रमाणीकरण गर्ने रिपब्लिकनहरुले असहमति जनाएका थिए ।

जर्जिया विजयपछि हाउसमा डेमोक्र्याट्सको नियन्त्रण
जर्जिया राज्यबाट सिनेटका दुबै सिटमा डेमोक्र्याट्सका उम्मेदवारले जितेका छन् । ३३ वर्षका डेमोक्र्याट उम्मेदवार जोन आसेफले रिपब्लिकन उम्मेदवार डेभिड पर्ड्युलाई पराजित गरे । अब संसदका दुबै सदनमा डेमोक्र्याटको नियन्त्रण हुने भएको छ ।

यसअगाडि जर्जियाबाट डेमोक्र्याटिक उम्मेदवार राफल वार्नकको जित भैसकेको छ । उनले रिपब्लिकन उम्मेदवार केली लोफ्लरलाई पराजित गरेका थिए । अब सिनेटका सय सिटमा ५० सिट डेमोक्र्याटले र ५० सिट रिपब्लिकनले जितेका छन् । उपराष्ट्रपतिले गर्ने ट्राइबेक मतका आधारमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ ।

दुबै सदनमा नियन्त्रण कायम गरेको अवस्थामा बिल पारित गर्न कुनै समस्या हुनेछैन । ११ मिलियन कागजपत्र विहिनलाई ग्रीनकार्ड हुँदै अमेरिकी नागरिकता प्रदान गर्ने बाइडेनको उक्त योजनाले बाल्यकालमा पुगेका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई पनि समेट्नेछ । अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झन्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन् ।

उक्त डाका कार्यक्रमले झन्डै साढे ६ लाख बाल्यकालमा अमेरिका पुगेका कागजपत्र विहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपालीहरु झन्डै ५ दर्जन छन् । टीपीएसबाहेक नेपालीहरु झन्डै ९ हजारको हारहारीमा छन् ।

यो समाचार लेख्दासम्म सभामुख नेन्सी पेलोसीले संयुक्त सदनको काम सुचारु गर्ने बताउँदै जो बाइडेनलाई राष्ट्रपतिको रुपमा आधिकारिकरुपमा घोषणा गर्ने जनाएकी छन् । राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने केही सांसदको तयारीको खबर पनि आएको छ भने चुनावलाई चुनौत दिन केही रिपब्लिकन सांसद पछि हटेको खबर छ । हिंसा भड्काउन नियतले लेखिएका ट्रम्पका केही ट्वीटलाई ट्वीटरले हटाइदिएको छ ।


प्रतिक्रिया

One thought on “मृतक संख्या ४ पुग्यो, ५२ जना पक्राउ- वासिङटनमा १५ दिन आपतकाल

Leave a Reply to Bhagwat simkhada Cancel reply

Your email address will not be published. Required fields are marked *