गैरकानुनी रूपमा अमेजन र नेटफ्लिक्सका ‘गिफ्ट कार्ड’ बेच्दै दराज – Nepal Press

गैरकानुनी रूपमा अमेजन र नेटफ्लिक्सका ‘गिफ्ट कार्ड’ बेच्दै दराज

काठमाडौं । नेपालको अनलाइन बजारमा लोकप्रिय ई–कमर्श कम्पनी ‘दराज’ले आफ्नो प्लेटफर्मबाट ‘अवैध’ सामग्रीहरूको व्यापार गरिरहेको पाइएको छ । नेपालमा ‘नेटफ्लिक्स’, ‘अमेजन प्राइम भिडियो’ लगायतका भिडियो कन्टेन्ट प्लेटफर्महरू उपलब्ध छैनन् ।

तर, अहिले दराजको वेबसाइटमा भारत, अमेरिका, क्यानडा तथा युरोपेली देशबाट रजिस्टर भएका ‘गिफ्ट कार्ड’हरूको पनि खुलेआम व्यापार भइरहेको स्पष्ट देखिन्छ ।

यो हेर्नुहोस्…

‘गिफ्ट कार्ड’ भनेको के हो ?

‘गिफ्टकार्ड’ भनेको सामान्य हामीले रिचार्ज कार्ड किने जस्तै हो । दराजमा राखिएको कुनै एउटा ‘गिफ्ट कार्ड’ खरिद गर्नु भनेको फोनको रिचार्ज कार्डको पिन नम्बर किने जस्तै हो ।

तपाईँले यसरी गिफ्ट कार्ड किनिसकेपछि विक्रेताले तपाईँलाई एउटा कोड दिन्छन् । र, त्यो कोड ‘रिडिम’ गर्नका लागि नेटफ्लिक्स उपलब्ध देशबाट नयाँ अकाउन्ट खोल्नुपर्छ ।

“नेपालबाट त्यो प्रक्रिया उपलब्ध नहुने भएकाले ‘भर्चुअल पाइभेट नेटवर्क’ (भिपिएन)को प्रयोग गरेर मात्रै गर्न सकिन्छ’ यहि व्यवसायमा संलग्न एक व्यक्तिले भने “नेपालमा अहिले अमेरिकी डलर, युरो र भारतीय रूपैयाँ सपोर्ट गर्ने गिफ्टकार्डहरू बिक्री वितरण भइरहेका छन् । र, त्यसका लागि ‘हुन्डी’, अनलाइन ट्रान्जेक्सन जस्ता माध्यमबाट दिनहुँ पैसा बाहिर गइरहेको छ ।”

कसले गर्छन् व्यापार ?

‘भर्चुअल गिफ्ट कार्ड नेपाल’ नामको फेसबुक पेज बनाएर यसको बिक्री गरिहेका एक व्यक्तिले ‘युरो कार्ड’ मात्रै उपलब्ध भएको बताए ।
उनले भने–१५,२५ र ५० युरोका अकाउन्टहरू उपलब्ध छन्, र क्रमश ती अकाउन्टको मुल्य २ हजार ७ सय २०, ४ हजार ५ सय २० र ९ हजार ५० रूपैयाँ पर्छ ।

तर, ती अकाउन्ट आफूले कसरी ल्याएको भन्नेबारे केही पनि जानकारी नभएको भन्दै उनी पन्छिए । यो एउटा उदाहरणमात्र हो । यस्ता सयौं विज्ञापनहरू अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा छरपस्ट छन् ।

यसरी सामाजिक सञ्जाल र इन्टरनेटमा देखिएका विज्ञापनले लोभिएको दराजले पनि आफ्नो प्लेटफर्मबाट यसको खुलेआम बिक्री वितरण गरिहेको छ ।

के यो वैधानिक हो ?

सामान्यतया नेपालमा उपलब्ध नै नभएको सेवा गैर कानुनी माध्यमबाट ल्याएर वितरण गर्न खोज्नु भनेको अवैध कार्य हो ।

“यस्तो काम विदेशमा बस्ने नेपाली साथी तथा आफन्तको माध्यमबाट हुने गरेका छन् ,” सूचना तथा प्रविधि विभागका निर्देशक लोकराज शर्माले नेपाल प्रेससँग भने, “त्यो त वैधानिक माध्यम भएन ।”

कुनै पनि देशमा उपलब्ध नभएका कुराको ‘थर्डपार्टी’ माध्यमबाट बिक्री वितरण गर्नु कानुनको पूर्ण रूपमा अवहेलना हुने साइबर इन्टरनेट अधिकारको क्षेत्रमा क्रियाशील अधिवक्ता बाबुराम अर्याल बताउँछन् ।

“दराजले नेपालमा डलरबाट कारोबार गर्न पाएन, नेटफ्लिक्सलाई डलरमा भुक्तानी गर्नुपर्छ । र, नेपालबाट भुक्तानी गर्न सक्दैन, ” अधिवक्ता अर्यालले भने, “त्यसो हुँदा उसले ‘थर्डपार्टी’ देशबाट भुक्तानी गर्नुपर्यो । त्यसैले सेवा यहाँ दिने र भुक्तानी ‘थर्डपार्टी’ देशहरूबाट लिनु भनेको कानुनको उल्लंघन गर्नु हो ।”

गैर जिम्मेवार दराज

हुनत, दराज आफैँले सामान बेच्ने होइन । तर, प्लेटफर्म दराजको प्रयोग भएकाले यसको जिम्मेवारी र जवाफ पनि दराजसँग हुनुपर्ने अधिवक्ता अर्यालले बताए । “दराजलाई नेपालको कानुनमा के छ भन्ने कुरा थाहा हुनुपर्छ,” उनले भने, “नेपालको कानुनअनुसार नै ‘गाइड’ हुनुपर्ने दराजको दायित्व हो ।”

तर, यसबारे जानकार भएर जिम्मेवारी निर्वाह गर्नुको सट्टा दराज यी गैर कानुनी व्यापारबाट आएको नाफा हेरेर मख्ख बसेको देखिन्छ । किनभने, अमेजन प्राइम भिडियो र नेटफ्लिक्स ‘गिफ्टकार्ड’का विज्ञापन दराजको वेबसाइट अहिले पनि भेटिन्छ ।

यसबारेमा दराजको धारणा बुझ्न खोज्दा उक्त कम्पनीका मार्केटिङ प्रमुख सलिना नकर्मीले आफूले यसबारे बोल्न नमिल्ने भन्दै इमेलको बाटो देखाएर आफू तर्किइन् ।


प्रतिक्रिया

One thought on “गैरकानुनी रूपमा अमेजन र नेटफ्लिक्सका ‘गिफ्ट कार्ड’ बेच्दै दराज

  1. दराजले बेचेको गैरकानुनी होला . यसले सरकारको चित्त पनि दुखायेको होला. तर गलत हो जस्तो चाहि मलाइ लागेन .

    यस्ले म जस्ता हजारौ उप्भोक्ताहरु लाइ चाहि गुन नै लगायेको छ.

    नेटफ्लिक्सका र अमेजन ग्लोबल कम्पनिहरु हुन. सन्सारका सबै प्रगतिशिल देश हरु म यि सेवा हरु निर्बाध प्रयोग हुन्छ. तर नेपाल अरु धेरै कुरा मा झै यसमा पनि पछाडि परेको छ. नेपाल सरकार ले अझै सम्म यस्ता सेवा हरु लै कसरि नेपालीहरु माझ उपभोग गर्न सजीलो बनाउने भनेर प्र्स्ट भिजन र योजना ल्याउन सकेको छैन. त्यसैले नेपाली जनतालाइ २० बर्ष पछाडी धकेलेको छ। विदेश बस्ने भाइ को छोरा छोरि Netflix मा child shows हेरेर हुर्कदै छन् . नेपालमा दाइलाइ पनि केहि अत्तोपत्तो छैन. भौतिक बिकाशमा त नेपाली हरु ठगिए ठगिए। डिजिटल बिकाशमा समेत पछि पार्ने काम भै राखेको छ।

    त्यसैले दराजलाइ मात्र गालि गर्नु भन्दा, सरकार तिर पनि औला ठडाउनु पर्यो. सरकारी निकाय लाइ सृजनशील र गतिशील हुन भन्नु पर्यो. समय अनुसार कानुन र प्रक्रिया बनाउ, नेपाली हरुलाइ ढुंगे युग मा नाराख भन्नु पर्यो.

Leave a Reply

Your email address will not be published. Required fields are marked *