व्यवसायीले बुझाउने कर र बैंकको व्याज तिर्ने समय बढाइदिन महासंघको आग्रह – Nepal Press

व्यवसायीले बुझाउने कर र बैंकको व्याज तिर्ने समय बढाइदिन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्यमी व्यवसायीहरुले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको सांवा व्याज भुक्तानी गर्ने समय बढाउन अर्थमन्त्री विष्णु पौडेल समक्ष आग्रह गरेका छन् ।

बुधबार सिहंदरबारमा महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको पदाधिकारीले अर्थमन्त्री पौडेललाई सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन् ।

भेटवार्तामा महासंघका तर्फबाट उद्यमी व्यवसायीले गत वर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक वर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरिक्षण समयमै गर्न नसकेकोले विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरेको महासंघले जनाएको छ ।

त्यसैगरी भेटवार्तामा महासंघका तर्फबाट बैंकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेषगरि साना मझौला उद्योग बढि प्रभावित भएका र कुनै पनि साना मझौला उद्यम पुर्णरुपमा संचालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले यही पौष मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन पनि अनुरोध गरेको महासंघका अध्यक्ष गोल्छाले बताए ।

कानुनी व्यवस्था प्रष्ट हुदाहुदै पनि बैंकहरुले कालोसूचिमा राख्ने लगायतका धम्की दिइरहेकोले म्याद थपिएन भने पचास प्रतिशत भन्दा बढि साना मझौला उद्यम वन्दै हुने अवस्थामा पुग्ने उनले बताए ।

साना मझौला उद्यमीलाई यो बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवर्द्धन लगायतको प्याकेज आवश्यकता पर्ने जानकारी दिए ।

अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सक्दो सहयोग गर्ने बताए । मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता  गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर