बौद्ध ध्यान केन्द्र निर्माण अन्तिम चरणमा, ९८ प्रतिशत काम सकियो – Nepal Press

बौद्ध ध्यान केन्द्र निर्माण अन्तिम चरणमा, ९८ प्रतिशत काम सकियो

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार क्षमताको सभागृह तथा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र धमाधम निर्माण भइरहेको छ । पहिलो चरणमा सभा हल, दुई वटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ । ९८ प्रतिशत काम सकिएको छ भने बाँकी काम अहिले जारी छ ।

सभागृह तथा ध्यान केन्द्रमा मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने ईपीएस प्यानल प्रयोग गरेर छानो छाइएको छ । ३८६.८८ वर्गमिटरमा बनिरहेको सभागृहसहितको संरचना बनाउन पहिलो चरणमा २८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

अहिले अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको काम गरिरहेको छ । आउँदो बुद्धजयन्ती यही सभागृहमा मनाउने गरी काम भइरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

हलमा छानोदेखि तल १२ हजार ७०० वर्गमिटरमा फल्स सिलिङ बनाइनेछ । २५६२औं बुद्ध जयन्तीको अवसरमा २०७५ वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सभागृह तथा ध्यान केन्द्रको शिलान्यास गरेकी थिइन् ।

ध्यानकेन्द्रको छानो ५० एमएमको ईपीएस स्याण्डविच प्यानलको ट्रसबाट बनेको छ भने यसको उँचाइ १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म छ । छाता शैलीमा निर्माण भइरहेको सभागृह अत्याधुनिक र सुविधासम्पन्न हुनुका साथै मुलुककै सबैभन्दा ठूलो र आकर्षक हो ।

सभागृहमा १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसन निर्माण गरिएको छ । फाउन्डेसन माथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । प्रत्येक पिलर एक वर्गमिटर गोलाइका छन् ।

मुलुककै नयाँ र फरक शैलीमा बनिरहेको सभागृहको छाना स्टिल र फलामको प्रयोगबाट बनाइएको छ । सानो ठूलो आकारमा विभाजन गरेर पनि कार्यक्रम गर्न मिल्ने गरी सभागृह बनाइएको छ । सभागृहको छाना माथि बुद्धको आँखा समेत बनाइनेछ ।

जापानी वास्तुकलाविद् प्रो.केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजनामा सभागृह नभए पनि यसलाई गुरुयोजनामा मेल खाने गरी निर्माण गरिनेछ । ध्यानकेन्द्रको अन्य संरचना बनाउन दोस्रो चरणको ठेक्का सम्झौता भइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *