शिव श्रेष्ठ भन्छन् : ४० वर्षदेखिको दर्शकको मायाले फिल्म चलाउन रिस्क लिएँ – Nepal Press

शिव श्रेष्ठ भन्छन् : ४० वर्षदेखिको दर्शकको मायाले फिल्म चलाउन रिस्क लिएँ

अभिनेता एवं निर्माता शिव श्रेष्ठले व्यवसायिक जोखिमको बाबजुद पनि माघ १ गते होमप्रोडक्सन फिल्म रिलिज गर्न लागेको बताएका छन् । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टाइटल गीत लन्च गर्न आयोजित प्रेसमिटमा उनले ४० वर्षदेखि प्राप्त गरेको दर्शकको मायाले आफूले रिलिजको रिस्क लिएको बताए ।

कोरोनाभाइरस महामारीकै मध्यमा फिल्म प्रदर्शन हुन लागेको हो । शिवले निर्माण गरेको यो फिल्म लकडाउनपछि रिलिज हुन लागेको पहिलो फिल्म बनेको छ । गत चैत ११ गते लकडाउन भएको थियो ।

विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गीतमा कविता मानन्धर र शक्ति श्रेष्ठ फिचर्ड छन् । बसन्त सापकोटाले संगीत भरेका छन् । प्रेसमिटमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का र चलचित्र संघ अध्यक्ष मधुसुधन प्रधानले कठिन समयमा पनि फिल्म रिलिज गर्न लागेकोमा श्रेष्ठलाई हौसला प्रदान गरे ।

रोमान्टिक–एक्सन ड्रामामा शिवसहित प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको अभिनय छ । यही फिल्मबाट करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्ति अभिनयमा डेब्यु गर्दैछन् । दिपेश सापकोटाले फिल्म निर्देशन गरेका हुन् ।

सरकारले अनुमति नदिएपनि व्यवसायीले एकपक्षीय रुपमा हल चलाइरहेका छन् । विज्ञहरुले चाहिँ तत्काल हल नखोल्न सुझाएका छन् । यसवर्ष रिलिज हुने फिल्मलाई प्रोत्साहनका लागि चलचित्र विकास बोर्डले राहतस्वरुप ५ लाख प्रदान गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर