योगेशको आरोपः ओली पक्षले माहोल मोड्न जबजको कुरा उठाए (भिडियोसहित) – Nepal Press

योगेशको आरोपः ओली पक्षले माहोल मोड्न जबजको कुरा उठाए (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताएका छन् ।

पार्टीको केन्द्रीय संघर्ष समितिको सह–संयोजक रहेका भट्टराईले मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले केपी शर्मा ओली पक्षधरले पूर्व एमाले तथा जनताको बहुदलीय जनवादलाई एकीकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताएका हुन् ।

प्रधानमन्त्रीले संविधानको उल्लंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्व एमालेको छाता ओढाइएको उनको भनाइ छ । पूर्व एमाले अथवा पूर्व माओवादी भनी एक ठाउँमा आउँदा मुलुक २०६२/६३ को आन्दोलन अगाडिको अवस्थामा पुगी देश द्वन्द्वमा जाने उनले बताए । पूर्व एमाले र पूर्व माओवादी भन्नु समाजलाई पछि धकेल्ने कुरा भएको उनको भनाइ छ ।

२०७५ जेठ ३ गते दुवै पार्टी विधिवत् रुपमा विघटन भएको र अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी एकीकृत केन्द्रीय कमिटीले अनुमोदन गरेकाले पछाडि फर्किन नसकिने उनले बताए ।

स्थायी कमिटी सदस्य भट्टराईले जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई परिमार्जन गर्दै समाजवाद उन्मुख जनताको जनवादलाई कार्यक्रम बनाइएको स्मरण गर्दै यसमा नअल्मल्लिन आग्रह गरे । यतिखेर देशमा प्रतिगमन र अग्रगमनबीचको अन्तरविरोध भएको र प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा उभिएको भट्टराईको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर