भार प्रेषण केन्द्रमा आकस्मिक अनुगमन, लोडेसेडिङको सम्भावना छैन – Nepal Press

भार प्रेषण केन्द्रमा आकस्मिक अनुगमन, लोडेसेडिङको सम्भावना छैन

‘ट्रिपिङको कारण केही ठाउँमा दुई तीन दिन झ्याप्प झ्याप्प बत्ती गयो’

काठमाडौं । गत शनिवार प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया सहितको टोली विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको आकस्मिक अनुगमनमा निस्कियो ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको अनुगमनका क्रममा काठमाडौंमा झ्याप्प झ्याप्प बत्ती गइरहनुको कारण खोजियो । अनुगमनका क्रममा लोडसेडिङ नभएको र माग अनुसारनै विद्युत आपूर्ति भइरहेको देखियो ।

नेपालमा बिजुली बत्तीको प्रयोग साँझमा धेरै हुने गरेको छ । त्यसैले साँझ अनुगमन गरिएको थपलियाले बताए । नियमित रुपमा मुलुकभर १४ सय १० मेगावटको माग हुने र, विद्युत प्राधिकरणले सो मागलाई सहजै आपूर्ति गरेको पाइएको उनले जानकारी दिए ।

अनुगमनका क्रममा पिक आवरमा पनि कुनै समस्या नरहेको तर दुई तीन दिन लोड धान्न नसक्दा केही ठाउँमा समस्या भएको पाइएको उनको भनाइ छ । थपलियाले भने,‘ प्रधानमन्त्रीज्यूको पनि बत्तीको समस्या को हो भन्ने चासो थियो ।हामीले हेर्दा पिक आवरमा कुनै पनि समस्या छैन । दुई तीन दिन वत्ती गयो,फेरि लोडसेडिङ हुन लाग्यो भनेर हल्ला गर्न खोजियो । त्यसका राजनीतिक कारण छन् ।’

भर्खरै फेरिएका मन्त्री र प्राधिकरणलाई हतोत्साही मात्र गर्न खोजिएको उनीहरुको भनाइ छ ।

काठमाण्डौं उपत्यकामा दैनिक ३८२ मेगावटको माग छ । प्राधिकरणले माग अनुसार सप्लाई गरिरहेको निमित्त महानिर्देशक शाक्यले बताए ।

उनले भने– अहिले उपत्यकालगायत कहीँ पनि बत्ती जाने समस्या छैन । हामी आफै भार सम्प्रेषण केन्द्रमा गएर सबै कुराको जाँचबुझ गरेका छौं । त्यहाँ ट्रिपिङका कारण आएको अलिअलि समस्या बाहेक त्यस्तो कुनै समस्या छैन । ट्रिपिङकारण समय–समयमा झ्याप्प–झ्याप्प बत्ती गएको हो । त्योभन्दा अरु कुनै समस्या छैन । यो प्राविधिक समस्या हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *